प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समृद्धिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्।
सोनाम ल्होसारका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले देशमा विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहकोमा जोड दिएका छन्।
विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ।
‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता राष्ट्रिय विशेषता र पहिचानसमेत हो’, प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा भनेका छन्।
प्रधानमन्त्री दाहालले यसप्रकारका पर्व कुनै खास जाति वा समुदाय विशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व हुन् भनेका छन्।
साथै प्रधानमन्त्री दाहालले सन्देशमा ल्होसारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ र सुदृढ बनाउँदै लगोस् भन्ने कामना गरेका छन्।
सामाजिक न्याय, सुशासन, दिगो विकास र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य साकार पार्न ल्होसारले एकताबद्ध हुन प्रेरणा दिने विश्वाससमेत प्रधानमन्त्रीले व्यक्त गरेका छन्। रासस
Shares
प्रतिक्रिया