नेकपा माओवादी केन्द्रका बागमती इन्चार्ज जनार्दन शर्माले पार्टी अझै पनि सहरबासी र मध्यम वर्गसँग जोडिन नसकेको बताएका छन्।
आइतबारदेखि राष्ट्रिय सभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै उपमहासचिव शर्माले ०६४ को उभारलाई जोगाउन नसक्दा माओवादीमा क्षयीकरण देखिएको पनि बताएका छन्।
रिपोर्टिङका क्रममा शर्माले तीन महिने अभियानका क्रममा बागमतीका १३ वटा जिल्लामा पार्टी केही सुदृढ भएको पनि जानकारी दिए।
तर, बागमतीका खासगरी उपत्यकाभित्र अझै पनि माओवादी छिर्न नसकेको निष्कर्ष उनले बैठकमा सुनाएको एक नेताले नेपालखबरलाई बताए।
‘बागमती प्रदेशको सांस्कृतिक र सामाजिक संरचनाका आधारमा माओवादी काठमाडौंमा जोडिनुपर्यो। संघ-संस्थासँग जोडिएर जनतामाझ पुग्नुपर्यो’, उनले भने, ‘मध्यम वर्ग, सहरबासी र सुकुम्बासीहरूसँग जोडिएमा पार्टी बन्छ।’
शर्माले करिब बहुमतनजिकको ०६४ सालको उभारलाई जोगाउन नसक्दा माओवादीले जनमत गुमाउन पुगेको पनि सुनाए।
‘०६४ को निर्वाचनको उभारलाई हामीले जोगाउन सकेनौँ, क्यास गर्न सकेनौँ’, उनले भने, ‘पशुपति मन्दिर लगायतका घटनाहरूका कारण पनि समस्या भयो। अर्कातिर नेवार समुदायका चाडपर्वलाई पनि हामीले ख्याल गरेनौँ। पशुपति लगायतका घटनाले हामीलाई धक्का दियो।’
शर्माले सशस्त्र संघर्षका क्रममा पार्टीबाटै गाउँदेखि लखेटिएकाहरूले सहरी मनोविज्ञान नकारात्मक बनाउन भूमिका खेलेको पनि बताए।
‘गाउँ छाडेर सहर पसेकाहरू, संघर्षका क्रममा लखेटिएकाहरूले पनि माओवादीप्रति सहरिया मनोविज्ञान नकारात्मक बनाउन भूमिका खेले’, उनले भने।
Shares
प्रतिक्रिया