नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग सवा घण्टा छलफल गरेका छन्।
मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पौने छ देखि साढे ७ सम्म छलफल गरेर ओली निस्किएका थिए।
भेटपछी ओली हर्षित देखिन्थे।
‘निस्कने बेला दुवै जनाको मुड ह्याप्पी थियो’ स्रोतले भन्यो, ‘भेटघाट सौहार्दपूर्ण भयो। सुरुवात, अन्त्य झन् राम्रो भयो। वान टु वान वार्ता भएको हो।’
स्रोतका अनुसार ओलीले प्रचण्डको एकवर्षको अवधिमा गरेको सम्बोधन र लेख रचनाको किताब मागेर लगेका छन्।
‘म तपाईंको एकवर्षका सम्बोधन पढ्छु, लेखहरु पनि पढ्छु भनेर ओलीजीले किताब लग्नु भयो’ स्रोतले नेपालखबरसँग भन्यो, ‘छलफल सकेर निस्किँदा उहाँ छुट्टै उत्साहित हुनुहुन्थ्यो।’
ओली खुसी भएको बेला ख्याल ठ्ट्टा गर्छन्।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे छलफल भएको स्रोतको भनाइ छ।
त्यसबाहेक पछिल्लो दिन गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदनमा चुनाव अघि गठबन्धन नगर्ने प्रस्तावलाई निर्णयार्थ राखेका छन्। त्यसले प्रचण्ड संशकीत छन्। त्यही बेला ओलीले प्रचण्ड भेटेका हुन्।
छलफलमा प्रचण्डले आइतबार लेखेको लेखको प्रसङ्ग समेत उठेको हुनसक्ने स्रोतले जनायो।
‘पीएम र ओली दुवैजना हर्षित देखिनु भएको थियो’ स्रोतले थप्यो, ‘कुनै विषयमा राम्रै समझदारी बनेको हुनसक्छ।’
‘त्यो भनेको टीआरसीलाई संसदबाट पास गर्ने पनि हुनसक्छ।’
Shares
प्रतिक्रिया