ad ad

राजनीति


बुधबार चीनलाई जानकारी गराए मात्रै शनिबार वुहानका नेपालीको उद्धार सम्भव

बुधबार चीनलाई जानकारी गराए मात्रै शनिबार वुहानका नेपालीको उद्धार सम्भव

नेपालखबर
माघ २८, २०७६ मंगलबार १३:३६,

चीनले कोरोना भाइरसको उद्गमस्थल वुहानमा रहेका नेपालीलाई उद्धार गर्न जाने उडानको बारेमा तीन दिनअघि नै विस्तृत विवरण उपलब्ध गराउन माग गरेको छ।

कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि हुवेई प्रान्तमा रहेका १ सय ८० जना नेपालीलाई उद्धारका लागि शनिबार चार्टर्ड विमान पठाउने बताउँदै आएको छ। त्यसका लागि नेपाल वायुसेवा निगमको बाइडबडी विमान पठाउने तयारी छ। यद्यपि यसको औपचारिक घोषणा भएको छैन।

चिनियाँ अधिकारीहरुले उद्धार मितिभन्दा तीन दिनअघि नै सम्पूर्ण विवरण दिन आग्रह गरेको बेइजिङस्थित नेपाली राजदूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए।

‘हामीले पनि शनिबार उद्धार गर्ने भनेर सञ्चारमाध्यमबाट जानकारी पाएका छौं। तर औपचारिक रुपमा अहिलेसम्म जानकारी आएको छैन,’ लम्सालले नेपालखबरसँग भने, ‘चिनियाँ अधिकारीहरुले तीन दिनअघि फ्लाइटको बारेमा विस्तृत विवरण दिनुपर्ने जानकारी गराउनु भएको छ। हामी दुवै देशका अधिकारीहरुसँग निरन्तर रुपमा सम्पर्कमा छौं।’

चीनले कोरोना भाइरस नफैलियोस् भनेर हुवेई प्रान्तका विमानस्थल, सार्वजनिक यातायात बन्द गरेको छ। त्यसैगरी मानिसलाई घरमै बस्न र अत्यावश्यक काम नपरी बाहिर ननिस्कन सूचना जारी गरेको छ।

विमानस्थल बन्द हुँदा हुबेइको विभिन्न स्थानमा रहेका नेपाली अलपत्र छन्। कोरोना भाइरसबाट संक्रमित हुने त्रासमा रहेका उनीहरुले आफ्नो उद्धार गरिदिन सरकारसँग आग्रह गर्दै आएका छन्। लम्सालअनुसार अन्य सहरमा रहेका मानिसलाई वुहान लैजान दूतावासले मोटरको व्यवस्था गरिसकेको छ।

‘हामीले गाडी कम्पनीहरुलाई तयारी अवस्थामा राखेका छौं,’ लम्सालले भने, ‘सबैभन्दा टाढाको सियानबाट वुहान पुग्न गाडीमा पाँच घण्टा लाग्छ। त्यहाँ पनि हामीले गाडीको व्यवस्था गरेका छौँ।’

हुबेईमा रहेका नेपालीमध्ये अधिकांश विद्यार्थी छन्। ‘यहाँ रहनु भएका सबै जना हामीसँग निरन्तर रुपमा सम्पर्कमा हुनुहुन्छ। कोरोना भाइरसबाट संक्रमित होइन्छ कि भन्ने त्रासमा हुनुहुन्छ’ लम्सालले भने, ‘उहाँहरुले त्यस स्थानबाट छिटोभन्दा छिटो बाहिर निस्कन पाए हुन्थ्यो भन्दै आउनु भएको छ।’

वुहानमा रहेकी विद्यार्थी प्रमिला देवकोटाले शनिबार उद्धारका विषयमा कतैबाट औपचारिक जानकारी नपाएको बताइन्। ‘सञ्चार माध्यममा त यसबारे पढियो तर दूतावासले कुनै जानकारी गराएको छैन,’ उनले भनिन्।

सरकारले हुवेइबाट उद्दार गरेर ल्याएको नेपालीहरुलाई निश्चित अवधिमा क्वारेन्टाइनमा राख्न चार स्थान छुट्टयाएको छ। त्यसैगरी कोही व्यक्ति संक्रमित भए उनीको उपचारका लागि शुक्रराज ट्रापिकल तथा सरुवा रोग केन्द्र, पाटन र वीर अस्पतालमा ४३ वटा आइसोलेसन वार्ड तयार गरेको छ। उपत्यकाका सरकारी तथा निजी अस्पतालहरुलाई कोरोना भाइरस सम्बन्धी योजना प्रस्तुत गर्न पनि सरकारले निर्देशन दिएको छ।

उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सोमबारदेखि अभिमुखीकरणमा तालिम दिइएको छ। त्यसैगरी चीनमा रहेको नेपालीलाई लिन जाने विमानको पाइलट तथा क्रु मेम्बरलाई बुधबार अभिमुखीकरण तालिम दिइने छ।

वुहान सहरबाट विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित भएका एक हजार जनाभन्दा बढीको मृत्यु भएको छ। भाइरस नफैलियोस भनेर चीन सरकारले थुप्रै स्थानमा सार्वजनिक यातायात, हवाई सेवा बन्द गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .