राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले कोही अमुक व्यक्तिले आफ्नो राजीनामा माग्न नपाइने बताएका छन्।
गत शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले ‘राजीनामा गरेर सडकमा जानू’ भनेकोप्रति आपत्ति जनाउँदै उनले यस्तो बताएका हुन्।
‘विचार मिल्दैन भन्दैमा कोही अमुक व्यत्तिले माग्न मिल्दैन। संविधान पढेर आउनुपर्यो, आउँदैन भने हामीसँग सिकाइ माग्नुपर्यो,’ सांसद शाहीले भने।
शुक्रबारको बैठकमा सांसद सापकोटाले संसद्मा हुलहुज्जत र मनलागी गर्ने हो भने सांसदको पदबाट राजीनामा गरेर सडकमा जान शाहीको नामै लिएर भनेका थिए।
उनले भनेका थिए, ‘तपाईंहरू शासन व्यवस्थाको कुरा पनि गर्नुहुन्छ, तपाईंहरू यो शासन व्यवस्था गलत छ भन्ने लाग्छ भने सांसदको पदबाट राजीनामा गरेर सडकमा जानुस्।’
तर, सांसद शाहीले भने नेपालको संविधान धारा ८७ ले सांसद्को राजीनामा के आधारमा हुन्छ भन्ने स्पष्ट लेखिएको भन्दै पढेर मात्रै आउन आग्रह गरे।
‘म जनताबाट निर्वाचित भएर आएको हुँ, मैले राजीनामा किन दिने? मैले ८–९ बच्चाको घाँटी रेटेर आएको हो? गुड्दै गरेका बसमा बम हानेर मारेको हो?, सांसद शाहीले भने, ‘नेपाली दिदीबहिनी दाजुभाइलाई मारेर आएको हो? जात, जाति, धर्म भेषभूषाका नाममा हिंसा गर्दै आएको हो? मैले राजीनामा के आधार र अवस्थामा दिने?’
Shares
प्रतिक्रिया