ad ad

राजनीति


झलनाथ भन्छन् : इलाम २ मा उठ्नेबारे गठबन्धनमा सल्लाह गर्छु

एमालेको पनि अवस्था हेरेर निर्णय लिने
झलनाथ भन्छन् : इलाम २ मा उठ्नेबारे गठबन्धनमा सल्लाह गर्छु

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार १७:४५, काठमाडौँ

निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन मिति तोकेको छ।

२०७९ मंसिर ५ गते निर्वाचित नेकपा एमालेका सांसद एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ रिक्त छ।

यस्तो अवस्थामा इलाम २ बाट उठ्न सत्ता गठबन्धन र नेकपा एमालेबाट आकांक्षीहरू देखिन थालेका छन्। इलाम २ बाट एमालेले नेम्वाङ पुत्र सुहाङलाई उतार्न सक्ने सम्भावना छ।

उता सत्तारुढ गठबन्धनबाट नेम्वाङसँग पराजित कांग्रेसका डम्बर खड्का पनि फेरि प्रतिस्पर्धाको तयारीमा छन्।

आयोगले मिति घोषणा गरेसँगै २०७९ को निर्वाचनमा इलाम क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतसँग पराजित नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको सम्भावित कदम पनि धेरैका लागि प्रतीक्षाको विषय बनेको छ।

इलाम १ मा पराजित भएसँगै एउटा राजनीतिक धक्का बेहोरेका खनाल संसद्‌मा फर्किन सक्ने सम्भावित विकल्पको खोजीमा छन्।

उनका लागि इलाम २ संसद् यात्राका लागि एउटा अवसर भएर आएको छ। इलाम १ मा नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग २ हजार ९ सय ५७ मतले पराजित भएका खनालका लागि संसदीय राजनीतिमा कमब्याकको अवसर बनेको छ इलाम २ को उपनिर्वाचन।

यस्तोमा नेपालखबरले आइतबार समाजवादीका सम्मानित नेता खनालसँग सम्पर्क गरेको छ। नेपालखबरसँगको छोटो कुराकानीका क्रममा पूर्वप्रधानमन्त्री खनालले इलाम २ को उपनिर्वाचनमा उठ्न सक्ने संकेत गरे पनि अहिले नै ठोस निर्णय गरिहाल्न हतार हुने बताए। 

‘इलाम २ का लागि वैशाख १५ गते उपनिर्वाचन घोषणा भएको सुनेको छु। अब त्यहाँ उठ्ने को को हुन्छन्? केही समय लाग्छ सबै खुल्न। इच्छुक सबैजना देखिएको छैनन्’, उनले भने, ‘सुरुमा त परिस्थिति राम्रोसँग बुझ्नुपर्छ। सत्ता गठबन्धनको अवस्था के छ? एमालेको छ? यी कुराहरू बुझेर मात्रै आवश्यक निर्णय लिन्छु।’

खनालले अहिले नै इलाम २ बाट उपनिर्वाचन लड्नेबारे केही नसोचेको बताए। ‘मैले यसबारेमा केही सोचेको छैन। साथीहरूका कुरा पहिले सुन्छु’, उनले भने, ‘अहिलेसम्म ठ्याक्कै सोचिसकेको छैन। पहिले त माहोल पनि हेर्छु। चुनाव मात्र लडेर मात्रै केही हुँदैन। पहिले पनि लडेकै हो।’

उनले इलाम २ का लागि सत्ता गठबन्धनका नेताहरूका कुरा सुन्ने उनले बताए। ‘गठबन्धनका नेताहरूले के भन्दा रहेछन्? उनीहरूको कुरा बुझेर मात्रै कदम चाल्छु’, उनले भने, ‘वैशाखको चुनावबारे अहिले नै ठोस रुपमा यसो गर्छु भन्न हतार हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .