ad ad

राजनीति


अर्थमन्त्री फेर्न कांग्रेस तयार नभएपछि अप्ठेरोमा प्रचण्ड

अर्थमन्त्री फेर्न कांग्रेस तयार नभएपछि अप्ठेरोमा प्रचण्ड

नेपालखबर
फागुन १५, २०८० मंगलबार ७:४२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिना अघिदेखि नै मन्त्री मण्डल फेरबदल गर्ने बताउँदै आएका छन्। तर सत्ता गठबन्धनको प्रमुख पार्टी नेपाली कांग्रेस मन्त्री फेर्न र मन्त्रालय साटफेर गर्न तयार नभएपछि प्रधानमन्त्री अप्ठेरोमा परेका छन्। 

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच औपचारिक अनौपचारिक रुपमा मन्त्री फेर्नेबारे छलफल भएपनि सहमति जुट्न सकेको छैन। देउवाले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भेट्न ३ बजेको समय लिएका थिए, तर मन्त्री परिषदको बैठकका कारण भेटवार्ता हुन सकेन। 

‘सभापति देउवा र प्रधानमन्त्रीबीच ३ बजे भेटवार्ताको समय तय भएको थिया, तर भेट भयो भएन थाहा हुन सकेन’, कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने। 

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सोमबार मन्त्री परिषद बैठकका कारण प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेट हुन नसकेको हो। 

सभापति देउवाले आफ्नो पार्टीबाट मन्त्री भएकाहरू दुई वर्षका लागि गएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डलाई केही मन्त्री फेर्न सकिने तर सेट नै फेर्न नसकिने बताउँदै आएका छन्। 

‘देउवाले प्रधानमन्त्रीसँग कांग्रेसका दुई जना मन्त्री मात्र परिवर्तन गर्ने, अरु मन्त्रीलाई निरन्तरता दिने बताउनु भएको छ’, प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक अधिकारीले भने, ‘अर्थमन्त्री फेर्न देउवा तयार हुनुहुन्न।’

ती अधिकारीका अनुसार देउवाले स्वास्थ्य मन्त्री मोहन बस्नेत र अर्को एक जना मन्त्री मात्र फेर्ने संकेत गरेका छन्। अख्तियारको छानविनमा परेका मन्त्री बस्नेत विवादमा पनि तानिँदै आएका छन्। 

देउवा अर्थमन्त्री प्रकाशशरण महतलाई हटाउन तयार नभएपछि प्रधानमन्त्री प्रचण्डले अप्ठेरो महशुस गरेका छन्। खराब अर्थतन्त्रमा सुधार ल्याउन नसकेको र मनोमानी हिसावले चलेको भन्दै प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्रीसँग असन्तुष्ट छन्। 

केही सातादेखि प्रचण्ड र देउवाले अर्थ मन्त्रालय र गृह मन्त्रालय साटफेर गर्न गृहकार्य थालेको चर्चा भइरहेको थियो। देउवा नै अर्थमन्त्री फेर्न तयार नभएपछि तत्कालका लागि यसमा ब्रेक लाग्ने देखिएको छ। अर्थमन्त्री महतले पनि आफुलाई कम्तिमा लगानी सम्मेलन आयोजना गर्न र अर्को एउटा बजेट ल्याउन दिन आग्रह गर्दै आएका छन्।   

सत्ता गठबन्धनका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी भने आफ्नो पार्टीबाट पठाइएका मन्त्रीहरूको टिम नै फेर्न चाहन्छन्। 

‘एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक वर्षका लागि मात्रै भनेर मन्त्रीहरू पठाएकाले उनीहरू टिम नै फेर्न हतारिएका छन्’, प्रधानमन्त्री सचिवालयका ती अधिकारीले भने, ‘अब कांग्रेस जे जसरी तयार हुन्छ त्यसरी नै सो पार्टीका मन्त्रीहरू फेरिन्छन्, अरु तीन पार्टीबाट भने टिम नै फेरिन पनि सक्छ।’

माओवादी केन्द्रबाट मन्त्री भएकाहरूलाई कसरी फेरबदल गर्ने भन्नेबारे प्रधानमन्त्री प्रचण्डले मंगलबार पार्टीको पदाधिकारी बैठकमा छलफल गर्ने तयारी गरेका छन्। 

‘बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्षको हैसियतमा प्रचण्डलाई सबै अधिकार दियो भने प्रचण्डले आफ्नो सहजता अनुसार गर्नेछन्’, माओवादी केन्द्रका एक नेता भन्छन्, ‘मन्त्रीहरू यसरी फेर्ने भनेर भन्यो भने त्यही अनुसार फेरबदल हुनेछ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .