उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन्।
काठमाडौंमा शुक्रबार सुरु कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उनले यसो भनेका हुन्।
उपप्रधान खड्काले गठबन्धन तलमाथि हुने आशङ्का पैदा भएको भन्दै पाँच वर्ष नै निरन्तर चल्ने दाबी गरे।
उनले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर गरे।
खड्काले कर्णालीलाई केन्द्रमा पुर्याउने कुरा नबिर्सिएको पनि बताए।
रक्षामन्त्री खड्काले सरकारले चलचित्र क्षेत्रलाई आवश्यक आधुनिक स्टुडियो बनाउने प्रतिबद्धता पनि जनाए।
‘बाहिर एउटा हल्ला चलेको छ। गठबन्धन तलमाथि हुने चिसो परेको भए त्यसबाट मुक्त हुनुहोला। यो गठबन्धन ५ वर्ष चल्छ। जनतालाई धोका दिन, कुर्सी तानातानका लागि बनेको होइन', उनले भने, 'यो गठबन्धन मूलभूत उद्देश्यसहित सडकदेखि सुरु हुँदै, जनताबीच मत माग्दा मुलुकलाई अघि बढाउँछौँ भनेर बनेको हो।'
उनले प्रधानमन्त्री एमव् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफू निर्वाचनको बेला गठबन्धनलाई बहुमत दिनुस्, नेतृत्व गर्न चाहन्छाैं भनेको स्मरण गरे।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा आधुनिक स्टुडियो बनाउन आवश्यक रहेको बताए।
उनले नेपाल आफैँमा खुला स्टुडियो भए पनि सबै काम त्यसबाट पूरा नहुने बताए। केसीले चलचित्र क्षेत्रको विकासका लागि बोर्डले सबै सहयोग गरिरहेको दाबी गरे।
Shares
प्रतिक्रिया