ad ad

राजनीति


बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री

बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री

नेपालखबर
फागुन १९, २०८० शनिबार १६:६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्रधानमन्त्री दाहालले उक्त विश्वविद्यालयको १५औँ सभालाई आज सम्बोधन गर्दै शान्तिको सन्देश प्रवाहमा विभिन्न समुदाय र विश्वविद्यालयको अहम् भूमिका हुनुपर्ने बताए। 

‘देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन, बौद्ध संस्कृति तथा परम्पराका बारेमा ज्ञान सम्प्रेषण गर्न विश्वविद्यालयले सबै क्षेत्रका व्यक्तिलाई बुद्धको आधारभूत शिक्षाका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्नुपर्दछ।’

इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्येताका लागि अनुपम स्रोतका रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सांस्कृतिक, धार्मिक, पर्यटन विकासका लागि ठूलो अवसरका रूपमा लिनुपर्नेमा जोड दिए। 

विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययनअध्यापन संरक्षण तथा संवद्र्धनका नयाँ कार्यक्रम अगाडि बढाउन उनले सुझाव दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

‘नेपाल बुद्ध भूमि, हजारौँ ऋषिमुनिको योगदानले निर्माण गरेको तपोभूमि पनि हो,’ प्रधानमन्त्रीले भने, ‘त्यसैले नेपाल विश्वकै आस्था र श्रद्धाको केन्द्र हो, यसको प्रवद्र्धन गर्ने दायित्व हाम्रो हो।’ 

बौद्ध संस्कृति, कला, विहार तथा गुम्बा संसारकै लागि आकर्षणका सम्पदा हुन् भन्दै प्रधानमन्त्रीले यस्ता संरचनालाई आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढेको खण्डमा समृद्ध मुलुक निर्माणको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे। 

प्रधानमन्त्रीले बौद्ध कला, साहित्य, पुरातत्व क्षेत्रको अनुसन्धान संवद्धन र प्रवद्र्धनबाट देशको गरिमा बढ्नाका साथै धार्मिक तीर्थस्थलका रूपमा योग, ध्यान, प्राकृतिक सौन्दर्य एवं शान्तिप्रेमी पर्यटकका लागि आकर्षण गर्न सकिने बताए। 

‘ओलाङचुङगोलादेखि टिङ्करसम्म अपार बौद्ध सम्पदा र संस्कृतिहरू छन्। त्यसैगरी, काठमाडौँ उपत्यका तीनै यानहरूको अभ्यासको थलो हो,’ प्रधानमन्त्रीले भने, ‘नेपालमा एक अलग्गै बौद्ध संस्कृति निर्माण भएको छ। तिनीहरूको यथोचित संरक्षण र संवद्र्धन तथा प्रचारप्रसार गर्न सकियो भने मुलुकले धेरै ठूलो मात्रामा पर्यटकहरूलाई आकर्षण गर्न सक्नेछ। त्यसको नेतृत्व लुम्बिनी बौद्ध विश्वविद्यालयले गर्नेछ।’

विभिन्न विदेशी विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदान भइरहेको आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस कार्यलाई अझ वृद्धि गर्दै बौद्ध शिक्षा अध्ययनका लागि लुम्बिनी जानुपर्छ भन्ने भाष्य विश्वभर विकास हुने र यसको जिम्मेवारी लुम्बिनी बौद्ध विश्वविद्यालयले लिनुपर्ने बताए।

‘५२ करोड जनसङ्ख्याको आस्था बौद्धदर्शनको गुरुत्व बुझौँ’ 
प्रधानमन्त्री प्रचण्डले विश्वका ५२ करोडभन्दा बढी बौद्धमार्गीको आस्थालाई बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले शैक्षिक क्षेत्र विश्वव्यापीकरणको प्रभावमा परिरहेको समयमा बौद्धमार्गीहरूको आस्थालाई प्रवद्र्धन गर्नुपर्छ भने। 

‘हाम्रो मौलिक दर्शन, संस्कृति, परम्परा, स्रोत साधनको अध्ययन गर्नेतर्फ आधुनिक बजार उत्साहित छैन । त्यसमा बौद्ध दर्शनजस्तो गहन दर्शन पनि प्रभावित छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वमा ५२ करोड जनसङ्ख्याको आस्थाको विषय बनेको बौद्ध दर्शन त्यसभित्र अन्तर्निहित सामाजिक र दार्शनिक कुराहरू अहिलेको समाजलाई नभई नहुने कुराहरू हुन्। यसलाई विश्वव्यापीकरण गर्नु हामी सबैको साझा दायित्व हो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .