ad ad

राजनीति


पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको छ : प्रधानमन्त्री

पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको छ : प्रधानमन्त्री

नेपालखबर
फागुन १९, २०८० शनिबार १६:५२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको बताएका छन्। पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा आज सम्बोधन गर्दै उनले बागलुङको समग्र विकासमा पञ्चकोटले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।

‘सर्वसिद्धिधाम पञ्चकोट र कुँडुलेफेँदीको शालिग्राम सङ्ग्रहालय विशिष्ट धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित छन्’, प्रधानमन्त्री दाहालले भने, ‘यस्ता महायज्ञ सञ्चालनले देवस्थल तथा तीर्थस्थलका महत्वका विषयमा मानिसमा अध्यात्मिक चेतना अभिवृद्धि भई धर्म, संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुग्छ।’

धार्मिक तथा सांस्कृतिकस्थलमा हुने आन्तरिक तथा बाह्य पर्यटकको आगमनले मुलुकको समग्र विकासमा योगदान पुग्ने उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले भौतिक विकासमा दौडिरहेको वर्तमान विश्वमा अध्यात्मिक चिन्तनको विकास गर्न नसके समाजमा स्थायी शान्ति प्राप्त नहुने धारणा राखे। उनले संस्कारसहितको व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेकामा जोड दिए। 

ऋषि, महर्षिको पवित्र भूमि नेपालका बासिन्दा पैसाकै लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए। धार्मिक ज्ञानका माध्यमबाट सामाजिक रुपान्तरणमा सर्वसिद्धिधाम पञ्चकोटका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्यले पु¥याएको योगदानको उनले प्रशंसा गरे।

‘शिक्षा, स्वास्थ्य, पर्यावरणलगायत क्षेत्रको प्रवर्द्धनमा स्वामीज्यूले पु¥याउनुभएको योगदानको म उच्च प्रशंसा र कदर गर्दछु’, प्रधानमन्त्री दाहालले भने, ‘त्रिवेणी क्षेत्रको गजेन्द्रमोक्षधामदेखि मुक्तिनाथ र दामोदर कुण्डसम्मको विकासमा स्वामीज्यूको लिनुभएको पहल विशिष्ट छ। कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणमा उहाँले खेल्नुभएको भूमिका उल्लेखनीय छ।’

प्रधानमन्त्री प्रचण्डले बागलुङ, म्याग्दी हुँदै मुस्ताङको कोराला नाका जोड्ने सडकको स्तरोन्नतिका लागि सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाए। सर्वसिद्धिधाम पञ्चकोटसहित मुक्तिनाथ क्षेत्रको समग्र विकासमा उक्त सडकले महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ।  

स्वामी कमलनयनाचार्यले धार्मिक पर्यटनको विकासमा सरकारको सहयोग चाहिएको बताए। उनले चीन जोड्ने कोरोला नाका सञ्चालन हुन सकेमा मुलुकको समृद्धिमा ठूलो टेवा पुग्ने उल्लेख गरे।
‘मुक्तिनाथ क्षेत्र हुँदै मानसरोकारको यात्रा गर्न सकिने अवस्था सिर्जना गर्न सकियो भने धार्मिक पर्यटनका माध्यमबाट देशले ठूलो लाभ लिन सक्छ, यसतर्फ सरकारको ध्यान जाओस्’, उनले भने।

स्वामी कमलनयनाचार्यले जनस्तर र सरकारी क्षेत्रको साथ र सहयोगबाट पञ्चकोटले नयाँ स्वरुप पाएको बताए। उनले व्यवस्थित सडक, खानेपानी र पार्किङस्थलको व्यवस्थापनमा सरकारका निकायको सहयोग आवश्यक रहेको धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसिद्धिधाम पञ्चकोट पवित्र देवभूमिका रुपमा स्थापित भइरहेको बताए। 

सभ्यताको जननी कालीगण्डकी नदी र शालिग्रामको संरक्षणका लागि स्वामी कमलनयनाचार्यले सञ्चालन गरेको अभियान अनुकरणीय रहेको अध्यक्ष ढकालले बताए। 

‘पञ्चकोटलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न सरकारले विशेष कार्ययोजना ल्याओस् भन्ने हाम्रो अनुरोध छ। यसमा हातेमालो गर्न हामी बागलुङवासी पनि प्रतिबद्ध छौँ”, उनले भने, ‘धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलको विकासले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ, पर्यटनमार्फत समग्र देशको आर्थिक विकासमा टेवा पुग्छ।’

अध्यक्ष ढकालले देशका सातै प्रदेशमा एकीकृत पर्यटकीय पूर्वाधार निर्माणमा आफूहरु लागिपरहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .