केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै नेकपा एमालेले कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अहिलेका मुख्यमन्त्री अल्पमतमा परेकाले तुरुन्तै राजीनामा दिनुपर्ने तर्क गरेका छन्।
‘केदार कार्कीलाई हामीले मुख्यमन्त्री बनायौँ तर उहाँले धोका दिएर गठबन्धनमा सामेल हुनुभयो। अब त्यो गठबन्धन नै भत्किए उहाँ मुख्यमन्त्री पदमा बसिरहन मिल्दैन,’ भण्डारीले नेपालखबरसँग भने, ‘उहाँले तत्काल राजीनामा दिनुपर्छ।’
मुख्यमन्त्री कार्कीले राजीनामा दिएपछि आफूहरू नयाँ मुख्यमन्त्रीको तयारीमा जुट्ने पनि उनले नेपालखबरलाई बताए।
कोसीमा एमालेकै समर्थनमा कार्की गत असोज २७ गते मुख्यमन्त्री बनेका थिए। एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका ८ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए। कार्की कांग्रेस नेता डा. शेखर कोइरालानिकट हुन्।
तर, अहिले केन्द्रमा पनि माओवादी केन्द्र र एमालेसहितको गठबन्धन बनेको छ। यो अवस्थामा कार्कीले राजीनामा दिनुपर्ने तर्क एमालेले गरेको छ।
संविधानका जानकारसमेत रहेका भण्डारीले कोसीमा अझै सरकार गठनको विकल्प ज्युँदै रहेको बताए। ‘हामी विकल्प दिन सक्षम र तयार छौँ,’ उनले भने, ‘सर्वोच्च अदालतले नै विकल्प रहेसम्म संसद विघटन हुँदैन भनेर प्रस्ट व्याख्या गरिसकेको छ।’
एमालेको साथ लिएर मुख्यमन्त्री बनेका कार्की पछि सत्ता गठबन्धनमै फर्किएका थिए। कार्कीको यो कदमलाई एमालेले धोकाका रुपमा बुझेको छ।
माओवादी र एकीकृत समाजवादीका नेताहरूलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको थियो। कार्कीलाई बहुमत जुटाइदिएर सरकारमा सहभागी गराए पनि धोका दिएकाले नयाँ समीकरणअनुसार उनले पद छाड्नुपर्ने पक्षमा एमाले उभिएको हो।
Shares
प्रतिक्रिया