ad ad

राजनीति


झलनाथ र रविपछि प्रधानमन्त्री भेट्न बालुवाटार पुग्दै ओली

झलनाथ र रविपछि प्रधानमन्त्री भेट्न बालुवाटार पुग्दै ओली

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८० बुधबार ९:५२, काठमाडौँ

मन्त्रालय भागबन्डाका विषयमा सत्ता गठबन्धनका दलबीच आन्तरिक छलफल चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल भेट्न आज बालुवाटार पुग्दै छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमाले अध्यक्ष ओली अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नेछन्। 

सत्ता गठबन्धनका दलबीच मन्त्रालय बाँडफाँट गर्न कार्यदलको बैठक बस्नुअघि दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो।

यसअघि आजै प्रधानमन्त्री प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका नेता सम्मानित नेता झलनाथ खनालले पनि भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

अहिले भने प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेबीच बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले सोमबार मात्र कांग्रेससहितको गठबन्धन भंग गर्दै एमाले–रास्वपासहितको नयाँ गठबन्धन बनाएका हुन्। सोमबार नै उनले पुराना सबै मन्त्रीलाई बिदा गर्दै नयाँ ३ मन्त्री नियुक्ति गरी मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन्। एमालेबाट पदम गिरी, रास्वपाबाट डीपी अर्याल र माओवादी केन्द्रबाट हितबहादुर तामाङले मन्त्री पदको शपथ सोमबारै खाइसकेका छन्। तर उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ। 

हाल एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा सामेल सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीलगायत दल पनि थप्न छलफल जारी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .