भनिन्छ, १२ वर्षपछि खोलो फर्कन्छ। माओवादी केन्द्रका नेता हितबहादुर तामाङको हकमा पनि यो उखान लागू भयो।
माओवादी जनयुद्धमा होमिएर जेलनेल भोगेका तामाङले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने अवसर पाएका छन्।
प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसक्दा तामाङले पार्टी अध्यक्षकै क्याबिनेटमा पहिलो पटक रहने मौका पाएका छन्।
अन्तरिम संसद् समेतगरी तीनपटक सांसद बनिसकेका उनी २०६८ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा मन्त्री भएका थिए। त्यसको १२ वर्षपछि उनी सिंहदरबार फर्किएका छन्।
एमाले–माओवादी गठबन्धन बनेपछि उनले पर्यटन मन्त्रालयको जिम्मा पाएका हुन्।
झलनाथ खनाल नेतृत्वको सरकारमा उनी खेलकुद मन्त्री बनेका थिए। तर, लामो काम गर्न पाएनन्।
‘२०६८ वैशाखमा मन्त्री भएर ३ महिना मात्र मन्त्रालयमा थिएँ,’ तामाङले नेपालखबरसँग भने, ‘यसपटक पार्टीले फेरि जिम्मेवारी दिएको छ।’
त्यतिबेला माओवादी सबैभन्दा ठूलो पार्टी थियो।
संविधान सभाको पहिलो र दोस्रो चुनावमा उनी पराजित भए।
संविधान जारी भएपछि २०७४ को प्रतिनिधि सभा सदस्य चुनावमा एमाले–माओवादी गठबन्धनबाट उनले नुवाकोट १ मा टिकट पाए र कांग्रेसका डा. रामशरण महतलाई पराजित गरे।
एमाले–माओवादी गठबन्धन बनेर सरकार बन्दा पनि तामाङ मन्त्री बन्न पाएनन्।
कांग्रेस–माओवादी गठबन्धन हुँदा २०७९ मंसिरमा सम्पन्न चुनावमा नुवाकोट १ बाट विजयी भएका थिए।
तामाङ आफ्नै पार्टीबाट मन्त्री रहेका सुदन किरातीलाई विस्थापित गरेर मन्त्री बनेका हुन्।
जबकि एमाले–माओवादी गठबन्धन बनेपछि माओवादीले नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत र रेखा शर्मालाई दोहो¥याएको छ।
माओवादीबाट तीन मन्त्री दोहोरिँदा तामाङ मात्र नयाँ अनुहार हुन्। उनी ६० वर्षका भए।
नुवाकोटकै अमर ज्योति उच्च मावि खरानीटारबाट २०३९ सालमा एसएलसी उत्तीर्ण उनले एसएलसी दिएलगत्तै २०४० मा थप्रेक निम्न माध्यमिक विद्यालयमा २ वर्ष पढाए।
१६ वर्षको उमेरमै कम्युनिस्ट राजनीतिमा लागेका उनी २०३६ सालमा अनेरास्ववियुको छैटाँै जिल्ला सम्मेलनबाट सदस्य बने।
उनी २०४९ सालमा पूर्णकालीन भए।
०४९ सालमा राष्ट्रिय सम्मेलनबाट डा. बाबुराम भट्टराईको अध्यक्षतामा गठित संयुक्त जनमोर्चाको केन्द्रीय समिति सदस्य बनेका उनी २०५१ सालमा नेकपा माओवादीको जिल्ला पार्टी प्रमुख (सेक्रेटरी) बने।
२०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि उनी भूमिगत भए।
२०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गरेका उनी २०५८ सालमा नुवाकोट जिल्लाको जनसरकार प्रमुख, २०५९ सालमा बाबुरामको नेतृत्वमा गठित केन्द्रीय जनपरिषद्को सदस्य र २०६० साल माघ १ गते ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख बने।
तामाङ युद्धकै बेलामा २०६१ जेठ २० मा भारतमा पक्राउ परेका थिए। २५ महिना लामो समय बिहारको पटनास्थित बेओर जेलमा राखिएका उनी शान्ति प्रक्रिया सुरु भएपछि २०६३ असारमा जेलमुक्त भए।
उनी तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक पनि हुन्।
सधैँ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका उनी २०६३ मा अन्तरिम व्यवस्थापिका संसदको सदस्य बने।
‘पार्टीले अवस्था हेरेर जिम्मेवारी दिन्छ,’ तामाङले संक्षिप्त प्रतिक्रिया दिँदै थपे, ‘यसलाई राम्रो काम गर्ने अवसरका रुपमा लिएको छु।’
Shares
प्रतिक्रिया