ad ad

राजनीति


प्रचण्डको १९ सदस्यीय मन्त्रिपरिषद्‍मा दलित शून्य

प्रचण्डको १९ सदस्यीय मन्त्रिपरिषद्‍मा दलित शून्य

नेपालखबर
फागुन २४, २०८० बिहिबार ८:१५, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा दलितको प्रतिनिधित्व शून्य भएको छ। 

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍मा बुधबार एमालेबाट ८ जना, माओवादी केन्द्रबाट ५ जना, रास्वपाबाट ४ जना र एकीकृत समाजवादीबाट २ जना मन्त्रीले शपथ लिँदा कुनै पनि दलित सांसद मन्त्री बन्न सकेनन्।

देशमा दलित समुदायको जनसंख्या झण्डै १४ प्रतिशत छ। संघीय संसद्‍मा एमाले, माओवादी केन्द्र र रास्वपाका ११ जना दलित सांसद छन्। 

१० वर्षे सशस्त्र युद्ध लढेको माओवादी र सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेले नै मन्त्रिपरिषद्‍मा दलित समुदायको प्रतिनित्वमा ध्यान नदिएको भन्दै दलित अधिकारकर्मीहरुले आचोचना गरेका छन्। 

यसअघि कांग्रेससहतिको गठबन्धनमा दलित समुदायबाट माओवादीकी सुशिला श्रीर्पाली राज्यमन्त्री बनेकी थिइन्।

हाल संघीय संसदमा एमालेबाट छविलाल विश्वकर्मा, ईश्वरबहादुर रिजाल, प्रभु हजरा दुसाध, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राना बराईली र हर्कमाया विश्वकर्मा सांसद छन्।

त्यसैगरी माओवादी केन्द्रबाट रणेन्द्र बराली, सुशिला श्रीर्पाली ठकुरी र राधेश्याम पासवान सांसद छन् भने रास्वपाबाट सन्तोष परियार र शिव नेपाली सांसद छन्।

काम गर्नसक्ने क्षमतावान दलित सांसद संसदमा हुँदाहुँदै आफूलाई कम्युनिष्ट दाबी गर्ने दलहरुले नै मन्त्रिपरिषद्‍मा दलितको प्रतिनिधित्वप्रति वेवास्ता गरेका छन्। 

प्रचण्ड मन्त्रिपरिषद्‍मा बसेभन्दा धेरै ब्राम्हण समुदायको प्रतिनित्व छ। २० सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित ब्राम्हण समदुायबाट ८ जना मन्त्री छन्। त्यसैगरी क्षेत्रीबाट ३, मधेशी समुदायबाट दुई महिलासहति ३ जना मन्त्री छन्। नेवार समुदायबाट ३ र जनजातिबाट ३ जना मन्त्री छन्। 

मन्त्रिपरिषद्‍मा महिलाको प्रतिनिधित्व पनि कमजोर छ। २० सदस्यीय मन्त्रिपरिषद्‍मा एमालेबाट भगवती चौधरी र ज्वालाकुमारी साह, माओवादी केन्द्रबाट रेखा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ मन्त्री बनेका छन्।

संविधानले नै राज्यका सबै निकायमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था अंगिकार गरेको छ। मुख्य दलहरुले नै मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी, समानुपातिक प्रतिधित्वको ख्याल गरेका छैनन्।  

एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती, रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा समाजकल्याण, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी र बलराम अधिकारी भूमि व्यवस्थामन्त्री बनेका छन् । 

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार र हितबहादुर तामाङ पर्यटनमन्त्री बनेका छन् । 

रास्वपाबाट रवि लामिछाने उपप्रधान एवं गृह, डिपी अर्याल श्रम, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् । 

एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला र धनबहादुर बुढा सहरी विकासमन्त्री बनेका छन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .