राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दिएका छन्।
केहीबेरअघि दाहालले सत्तापक्षको तर्फबाट र शर्माले कांग्रेसको तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भोलि (मंगलबार) हुँदै छ।
दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।
त्यसैगरी शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह छन्।
उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ। दर्ता प्रक्रिया सकिनासाथ आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुने कार्यतालिका छ।
दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्। उनी २०७८ सालमा मन्त्रिपरिषदबाट मनोनित हुने कोटाबाट राष्ट्रिय सभाका सांसद भएका थिए।
परिवारवादलाई प्रश्रय दिएको भनेर प्रचण्डको आलोचना पनि भइरहेको छ। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भोलि फागुन २९ गते हुँदै छ।
Shares
प्रतिक्रिया