ad ad

राजनीति


पूर्व एमालेलाई छोएन जनयुद्ध दिवसले

पूर्व एमालेलाई छोएन जनयुद्ध दिवसले

सागर न्यौपाने
फागुन १, २०७६ बिहिबार १३:८,

 फागुन १ अर्थात २५ वर्षअघि ‘सर्वहारा वर्गको मुक्ति र अधिकार प्राप्ति’का लागि भन्दै तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र विद्रोह सुरु गरेको गरेको दिन। माओवादी पक्षधरहरुले यो दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएका छन्।

दशवर्षे जनयुद्धलाई शान्तिपूर्ण बाटोमा ल्याउँदै संसदीय राजनीतिमा प्रवेश गरेको माओवादीले त्यसको १२ वर्षपछि एमालेसँग एकता ग¥यो र नयाँ पार्टी नेकपाको जन्म भयो। दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकताबाट नयाँ पार्टी बनेको यही जेठ ३ गते दुई वर्ष पुग्दैछ। पार्टी एउटै बने पनि पूर्व दुई समूहका बीचको अन्तर भने बेलाबेलाका कार्यक्रमहरुमा देखिँदै आएको छ।

तत्कालीन एमाले र माओवादीको एकताले लगभग पूर्णता पाए पनि बिहीबार जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा भने पूर्वएमाले समूहले खासै चासो देखाएन्।

सशस्त्र संघर्षमा सहभागी नेकपाका नेता तथा कार्यकर्ताहरुले बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा तस्बिर तथा स्मरण सेयर गर्दै जनयुद्धको शुभकामना आदान–प्रदान गरे। उनीहरुले जनयुद्धकै कारण देशमा राजनीतिक परिवर्तन भएको दावी समेत गरेका छन्। कम्युनिस्ट विचारबाटै बाहिर गएका जनयुद्धका शीर्ष नेता डा. बाबुराम भट्टराईले पनि जनयुद्धको स्मरण गरे पनि नेकपाभित्र भने दुई धार देखियो।

यसअधि नै नेकपाले फागुन १ गतेको जनयुद्ध दिवस भव्य रुपमा मनाउने गरी तयारी भइरहेको सार्वजनिक गरेको थियो। प्रधानमन्त्री अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेर जनयुद्ध दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने गरी पत्राचार गरियो।

धुम्बाराही र पेरिसडाँडामा रहेको दुईवटै पार्टी कार्यालयमा फागुन १ को कार्यक्रम तय गरियो। ‘जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको स्मृति’मा आयोजित श्रद्धाञ्जलि सभा भनेर धुम्बाराहीमा कार्यक्रम राखियो भने ‘२५ औं महान् जनयुद्ध तथा जनआन्दोलन सहिद दिवसको अवसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम’ तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखियो।

अधिल्लो वर्षजस्तै यो वर्ष पनिज जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली उपस्थित हुने र सम्बोधन गर्ने भनेर नेकपाकै नेताहरुले सामाजिक सञ्जालमा लेखे। पार्टी कार्यालयले पनि सोही व्यहोराका पत्र तयार पारेर नेताहरुलाई पठायो।

janayoudha diwas

धुम्बाराहीमा सबा ९ बजे सुरु भएको कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित भएनन्। कार्यकारी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा मात्रै धुम्बाराही पुगे।

त्यस्तै स्थायी समितिका अमृत बोहरा, युवराज ज्ञवाली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पम्फा भुसाल लगायतका केही नेता पनि कार्यक्रममा उपस्थित भए। मञ्चमा केही पूर्व एमाले समूहका नेताहरु देखिए पनि एकाध कार्यकर्तामात्रै कार्यक्रममा सहभागी थिए। कार्यक्रमको उपस्थिति हेर्दा यो नेकपाको नभई पूर्व माओवादीकै कार्यक्रजस्तो लागेको एक कार्यकर्ताले टिप्पणी गरे।

कार्यक्रममा पुगेका अधिकांश नेता तथा कार्यकर्ता पूर्व माओवादी कै रहेको केन्द्रीय सदस्य हितमान शाक्यले बताए। ‘प्रधानमन्त्री आउने कार्यक्रम थियो अन्तिममा आएर उहाँको स्वास्थ्य अवस्थाले आउन सक्नुभएन’, नेपालखबरसँग शाक्यले भने, ‘जनयुद्ध दिवस भनेपछि स्वभाविक छ, पूर्व माओवादीकै साथीहरु बढी हुनुहुन्छ।’

स्वास्थ्य अवस्थाले आउन नसकेको सन्देश पठाएका प्रधानमन्त्री ओली भने सरकारको दुईवर्षे समीक्षाको तयारीका लागि बालुवाटारमै व्यस्त रहेको उनको सचिवालयले जनाएको छ।

bamdev gautam dhumbarahi

‘पार्टी अध्यक्ष ओलीले जनयुद्धलाई स्वीकारेको जस्तो देखिएन’, केन्द्रीय सदस्य तथा रोल्पा सहइन्चार्ज नवीन रोकामगरले नेपालखबरसँग भने, ‘एकतापछि राखिएको कार्यक्रममा सहभागी नभएर उहाँले सन्देश राम्रो दिनुभएन।’

पूर्व माओवादी समूहका स्थायी समिति सदस्य मणि थापाले पनि पूर्व एमालेले जनयुद्धबाट प्राप्त उपलब्धिमात्रै उपयोग गरेको बताए। ‘अध्यक्ष ओलीले फागुन १ गतेको मर्म रियालाइजेसन गरेको देखिएन’, उनले भने, ‘उहाँहरुको मिसन उपलब्धि सबैले खाने तर जनयुद्धलाई हेर्दै नहेर्नै प्रवृत्ति देखियो।’

त्यस्तै पूर्व माओवादी समूहकै कार्यकर्ता उमा माझीले धुम्बाराहीमा कार्यक्रम नराखेर पेरिसडाँडामा राखेको भए बरु कार्यक्रमको महत्व हुने टिप्पणी गरिन्। ‘फागुन १ जनयुद्ध दिवस मनाउन पनि यो पूर्व माओवादीको कार्यक्रम हो भनेर बुझिन थालियो भने के को एकता?’ उनले प्रश्न गर्दे भनिन्, ‘यो कार्यक्रम पेरिसडाँडामा लगेर राखिएको भए बढी राम्रो हुने थियो, कम्तीमा आएका सबै त अट्थे।’ सानो हल भएका कारण कार्यक्रममा धेरै नेता÷कार्यकर्ता नअटेकोप्रति माझीको गुनासो थियो।

धुम्बाराहीमा देखिएकोे दृश्य जिल्लाहरुमा पनि देखिन सक्ने भन्दै रामेछापका जिल्ला नेताले चिन्ता जनाए।

तर, नेकपा केन्द्रीय सदस्य कृष्ण केसी भने पूर्व एमालेको पार्टी कार्यालयमा जनयुद्ध दिवसकै कार्यक्रम राख्नु पनि उपलब्धि भएको दाबी गर्छन्। ‘कम्तीमा पूर्व एमालेका साथीहरुले जनयुद्ध त स्वीकार गर्नुभयो नी’, केसीले नेपालखबरसँग भने।

प्रचण्डले भने : शान्ति प्रक्रियामा नआएको भए गोञ्जालो र लिट्टेको जस्तो हाल हुन्थ्यो
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध सुरुदेखि त्यसको अन्त्य गर्ना र नेकपाको निर्माणसम्मका घटनाको बेलीबिस्तार लगाए।

उनले जनयुद्ध नरोकेको भए आफूहरु पनि श्रीलंकाको लिट्टे वा पेरुको साइनिङ पाथको नेतृत्व गर्ने गोन्जालोको हालतमा पुग्ने खतरा देखिएपछि नै सचेत भएर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको बताए।

नेत्रविक्रम चन्द ‘विप्लव’प्रति संकेत गर्दै उनले विप्लव पनि अर्काे प्रचण्डजस्तै बन्न खोजेको र त्यो संभव नहुने उनले ठोकुवा गरे।

एमालेसँग विचार र नेतृत्वको आधारमा एकता गरेको र आफ्नो नेतृत्व विना कसैले केही गर्न नसक्ने उनको जोड थियो। ‘विचार र नेतृत्वको स्प्रिड देखेरै साथीहरु एकतामा सहमत हुनुभएको हो’, उनले २०७० को चुनावको नतिजाले त्यही कुरा पुष्टि गरेको बताए।

आफूले मौलिक खालको जनयुद्ध सफल मात्रै होइन ठूला कम्युनिष्टबीच एकता समेत गरेर दुईतिहाई मत ल्याउन पनि सफल भएको प्रचण्डले दाबी गरे।
पेरिसडाँडामा भएको कार्यक्रममा मातृका यादव र मणि थापाले सम्बोधन गरेका थिए।

त्यहाँ त झन् पूर्व एमाले समूहको उपस्थिति झनै न्युन थियो। ‘आफ्नै कार्यालय धुम्बाराही नपुगेका पूर्वएमालेका साथीहरु पेरिसडाँडा आउने त कुरै भएन’, कार्यक्रममा सहभागी एक कार्यकर्ताले टिप्पणी गरे।

धुम्बाराहीमा सेल्फी लिने र फोटो खिच्नेको होड
धुम्बाराहीमा जनयुद्ध दिवस मनाउन गएका नेता÷कार्यकर्ताको ध्यान सेल्फी खिच्न देखिन्थ्यो। कार्यालयभित्रको हलमा कार्यक्रमलाई मुख्य नेताहरुले सम्बोधन गरिरहेका बेला अन्य नेता तथा कार्यकर्ता भने चिया, विस्कुट खाँदै तस्बिर लिन व्यस्त देखिन्थे। कतिपय चौरमै घाम तापिरहेका थिए।

jana12

आ–आफ्नो समूह बनाएर सेल्फी लिने, फोटो खिच्ने गर्नुका साथै  केन्द्रीय नेताहरुसँग फोटो खिचाउन कार्यकर्ताबीच होडबाजी नै चलेजस्तो देखिन्थ्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .