गत फागुन २१ गते बनेको सत्ता गठबन्धनले मंगलबार साँझसम्म संयुक्त वक्तव्य निकाल्ने भएका छन्।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका माग सम्बोधन गर्ने सहमति बनेको थियो।
त्यसपछि संघीय संसद्मा १० जना सांसद रहेको एकीकृत समाजवादीले मंगलबार भइरहेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाललाई सघाउन तयार भएको हो।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार लिन लागेको विश्वासको मतको पक्षमा पनि उभिन एकीकृत समाजवादी तयार भएको छ।
समाजवादीबाट यसअघि नै धनबहादुर बुढा र भानुभक्त जोशी नयाँ सत्ता गठबन्धन सरकारमा मन्त्री बनिसकेका छन्।
यस्तो अवस्थामा फागुन २१ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले ८ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए।
फागुन २१ मै सत्ता गठबन्धनमा मिस्सिसकेको समाजवादीका अध्यक्ष नेपालले राखेका नयाँ मागलाई प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय सभा अध्यक्ष निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कुनै समस्या आउन नदिने गरी शीर्ष नेताहरूले सहमति जुटाएका हुन्। यदि एकीकृत समाजवादी विपक्षमा उभिएको अवस्थामा प्रचण्ड नेतृत्वको नयाँ गठबन्धन सरकार धर्मराउन सक्ने जोखिम छ।
दुवै शीर्ष नेताहरू समाजवादीका माग सम्बोधन गर्न तयार भएपछि मंगलबार साँझसम्म अब ५ दलको संयुक्त वक्तव्य आउने भएको हो। उक्त वक्तव्यमा यसअघिका ८ बुँदे सहमतिमा समाजवादीका माग पनि समावेश गरिँदैछ। त्यसमा अब एकीकृत समाजवादीले हस्ताक्षर गर्दा सत्ता गठबन्धन पाँच दलीय हुनेछ।
यसैबीच राष्ट्रिय सभा अध्यक्ष चुनावको सन्दर्भमा सत्ता पक्षीय पाँच दलले संसद् भवन नयाँबानेश्वरमा छलफल गरेका छन्। पाँचै दलका सबै सांसदलाई जुटाएर नेताहरूले छलफल गेका हुन्।
Shares
प्रतिक्रिया