प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक विश्वासको मत माग्दै प्रधानमन्त्रीको रुपमा निषेध, अपमान र प्रतिशोधको राजनीति नगर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई समेत विश्वासको वातावरणका लागि अझै पछिसम्म सहकार्य हुनसक्ने उनले बताए।
‘व्यक्तिगत आक्रमण गर्न चाहन्नँ। राजनीतिक विषयको प्रतिवाद राजनीतिक तरिकाबाटै हुनुपर्छ। कांग्रेसबाट पनि त्यही अपेक्षा गर्छु। एउटै माघले जाडो जाँदैन,’ प्रधानमन्त्रीले भनेका छन्, ‘हामी शान्ति सम्झौताका सहयात्री हौँ, लोकतान्त्रिक गणतन्त्रका सहयात्री हौँ, राष्ट्रिय मुद्दामा अझै सहकार्य गर्नुछ, नबिर्सौँ।’
दाहालले सहमति, सहकार्य र आत्मविश्वासमा अझैपनि आफू रहेको कांग्रेसलाई बताए।
‘प्रधानमन्त्रीको नाममा म निषेश, अपमान र प्रतिशोध होइन। सहमति, सहकार्य र आत्मविश्वासमा छु,’ उनले भने।
संवैधानिक परिषद्को शक्ति बाँडफाँटमा सबै दलको स्वामित्व भएको भन्दै सहकार्य गर्नुपर्ने उनको भनाइ थियो।
‘गाली गरेपछि सबै समस्याको समाधान हुन्छ भन्ने हो कांग्रेसको? राष्ट्रिय समस्याको समाधानका लागि पनि हामी सबै एकैठाउँमा उभिनैपर्छ। एकता कायम गर्नैपर्छ,’ प्रधानमन्त्रीले भने।
Shares
प्रतिक्रिया