प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसद्मा विश्वासको मत लिँदा ६ जना सांसद अनुपस्थित भएका छन्।
हाल प्रतिनिधि सभामा २७४ सांसद छन्। जसमा प्रचण्डलाई विश्वासको मतका लागि भएको मतदानमा २६८ मात्रै सांसद उपस्थित रहे।
प्रधानमन्त्रीका रुपमा तेस्रो पटक प्रचण्डले विश्वासको मत पाए। उनलाई प्रधानमन्त्रीमा विश्वास छ भन्ने पक्षमा १ सय ५७ सांसदले मत दिएका छन्।
त्यसमध्ये नेकपा एमालेका ७४ सांसदले प्रचण्डलाई मत दिए। प्रतिनिधि सभामा एमालेका ७७ सांसद छन्।
जसमा इलाम क्षेत्र नम्बर २ का सांसद सुवाचन्द्र नेम्वाङको निधन भएर रिक्त छ। यस्तै, एमालेका देवराज घिमिरे अहिले सभामुख छन्। उनले मत दिँदैनन्। टोपबहादुर रायमाझी निलम्बित छन्।
यसैगरी बुधबारको संसद बैठकमा अनुपस्थित हुनेमा एमालेकै सांसद वसन्त नेम्वाङ छन्। उनी गम्भीर बिरामी भएर अस्पतालमा छन।
प्रचण्डलाई माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, नेकपा एकीकृत समाजवादीका १० र नागरिक उन्मुक्ति पार्टीका ४ ले प्रधानमन्त्रीका रुपमा विश्वास गरेका छन्।
यसैगरी आमजनता पार्टीका अध्यक्ष प्रभु साहले पनि विश्वासको मत दिए। उता डा. अमरेशकुमार सिंह र योगेन्द्र मण्डलसहित दुई स्वतन्त्र सांसदले प्रचण्डलाई विश्वासको मत दिए।
विश्वासको विपक्षमा नेपाली कांग्रेस ८७, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, जनमत पार्टीका ५, लोकतान्त्रिक समाजवादीका ४ र राष्ट्रिय जनमोर्चाका १ सांसद उभिए।
बुधबारको बैठकमा राप्रपाकी गीता बस्नेत, जनमतकी सोनु मुर्मु उपस्थित भएनन्।
अर्कातिर नेपाल मजदुर किसान पार्टीले पक्ष-विपक्ष कुनैमा मतदान गरे। नेमकिपाबाट प्रेम सुवाल सांसद छन्।
Shares
प्रतिक्रिया