प्रतिनिधि सभामा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह नेपाली कांग्रेस वर्तमान संविधानविरुद्ध उभिन थालेपछि फागुन २१ गते नयाँ गठबन्धन बन्न पुगेको बताएका छन्।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि नेपालखबरसँगको कुराकानीका क्रममा सांसद सिंहले कांग्रेसले संविधान नै धरापमा पार्न लागेपछि आफू पनि नयाँ गठबन्धनको पक्षमा उभिएको बताए।
सिंह केही समय अघिसम्म प्रधानमन्त्री प्रचण्ड र उनको सचिवालयका सदस्यहरूका कटु आलोचकमध्ये एक थिए। उनले प्रचण्ड र उनको सचिवालयबारे निरन्तर कडा टिप्पणी गर्दै भ्रष्टाचार र कमिशनको रासमा डुबेको बताउने गरेका थिए।
तर बुधबार उनै सिंहले प्रचण्डलाई विश्वासको मत दिए। ‘भ्रष्टाचार र अनियमितताबारे अहिले पनि म कडा कुरा गर्छु। तर कांग्रेसले संविधान नै धरापमा पार्न लागेपछि प्रधानमन्त्रीलाई सघाएँ’, उनले भने, ‘संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा कांग्रेस कहिले बोलेन। संविधानको पक्षमा केपी ओली र प्रचण्ड उभिएको देखेपछि मैले पनि उनीहरूलाई साथ दिएँ।’
उनले अहिले पनि प्रधानमन्त्रीको कार्यालयदेखि वडा कार्यालयसम्म भ्रष्टाचार रहेको भन्दै त्यसविरुद्ध निरन्तर बोलिरहने बताए।
‘संविधानविरुद्ध कांग्रेसले अभियान नै चलायो। भ्रष्टाचार नियन्त्रणको विपक्षमा पनि उभियो’, उनले भने, ‘तर मलाई मन्त्री बन्न जानु छैन। म एउटा निर्भीक सांसदका रुपमा देश र जनताका पक्षमा बोलिरहन्छु। अझै कतिवटा संविधान फेर्ने देशमा, हाम्रै प्रदेशमा धार्मिक द्वन्द्वका कारण कर्फ्यु लाग्यो। देशलाई दंगामा लान खोजियो त्यसलाई रोक्नुपर्छ। त्यसैले म यो संविधानको रक्षाका लागि ओली र प्रचण्डको पक्षमा उभिएँ।’
उनले अघिल्लो गठबन्धन हुँदा कांग्रेसको प्रतिवद्धता संविधान र सुशासनप्रति नभएको जिकिर गरे। ‘नक्कली भुटानी शरणार्थी काण्डमा पनि माथिसम्म छानबिन गरिएन, कांग्रेस सभापतिकै दबाबमा त्यो प्रकरण अनुसन्धानन गर्ने प्रहरीलाई पनि सरुवा गरियो’, उनले भने, ‘संविधानको रक्षाका लागि हामी काम गर्छौँ। संविधानसभाको सदस्य म पनि थिएँ। आफूसमेत लागेर बनाएको यो संविधान हाम्रा लागि महत्वपूर्ण छ।’
उनले देश र जनताले चाहँदा संविधान संशोधन गर्न पाइने बताए। ‘जनताको मा हुँदा संविधान संशोधन हुन सक्छ। तर बेमौसमको बाजा बजाएर कसैले हिन्दु र कसैले राजा खोज्नु गलत हो’, उनले भने।
फागुन २१ पछि आफूले केपी ओली र प्रचण्ड दुवैसँग कुरा गरेको बताए। ‘फागुन २१ पछि प्रधानमन्त्री र केपी ओलीसँग कुरा भएको थियो। केपी ओलीले संविधानको रक्षा नगरे देश अस्थिरतामा जाने बताउनु भयो’, उनले भने, ‘संविधानको रक्षा हामी एक ठाउँमा आएपछि मात्रै हुन्छ भन्नु भयो। चारपाँच पटक नै म दुवै ठाउँमा पुगेर छलफल गरेँ। ओलीऔ-प्रचण्ड संविधान जोगाउन एकैठाउँ आएपछि म पनि त्यहीँ मिसिएर साथ दिएँ।’
Shares
प्रतिक्रिया