प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले नेकपा माओवादीका केन्द्रका नेताहरूमा तस्करीको सुनको जलप लागेको बताएकी छन्।
शुक्रबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा उनले माओवादी नेता र तिनका परिवारका सदस्यहरूमा तस्करीको सुनको जलप लागेको बताएकी हुन्।
माओवादी नेताहरू सुनै सुनले पहेंँलपुर भएको बताएकी उनले अहिले देशभर सुनकाण्डकै चर्चा रहेको भन्दै कटाक्ष गरिन्।
‘अहिले देशभर सुनकाण्डको चर्चा छ। माओवादीका कयौँ नेता र उनीहरूका परिवारका सदस्यलाई पनि सुनको जलपले पोतिएको छ’ सेजुवालले भनिन्, ‘माओवादी नेताहरू अहिले सुनले पहेँलपुर भइसक्नु भयो। अर्थमन्त्री वर्षमान पुनकोको नामसमेत प्रकरणमा जोडिएको सुनेका छौँ।’
सांसद सेजुवालले गृहमन्त्री रवि लामिछानेतिर लक्षित गर्दै विवादित व्यक्तिको हातमा सुशासनको चावी जिम्मा लगाएको आरोप लगाइन्।
उनले स्वार्थ बाझिएका व्यक्तिलाई नै मन्त्रालयको जिम्मा लगाएर प्रधानमन्त्रीले गलत गरेको बताइन्। सहकारी ठगीसहितमा जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै सेजुवालले प्रधानमन्त्रीको आलोचना गरिन्।
सुशासन कायम गर्ने चाबी ठगी प्रकरणमा जोडिएकालाई दिएको भन्दै सेजुवालले संसारको राजनीति योभन्दा ठूलो मजाक अरु हुन नसक्ने जिकिर गरिन्।
Shares
प्रतिक्रिया