सहकारी ठगीसहितका प्रकरणमा मुछिएर गम्भीर प्रश्न उठेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पद छाड्नुपर्ने बताएको छ।
गृहमन्त्रीबारे निरन्तर एउटा प्रश्न उठिरहेको अवस्थमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि जवाफ दिनबाट पन्छिएको आरोप पनि कांग्रेसले लगाएको छ।
सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन प्रस्ताव पेस गर्न गृहमन्त्री लामिछानेलाई समय दिएका थिए।
तर गृहमन्त्रीलाई सभामुखले समय दिनेबित्तिकै कांग्रेस सांसदहरूले ड्यासबाट उठेर संसद्मा अवरोध गरे।
‘कुनै पनि मन्त्री यी या सरकारी अधिकारी अनुसन्धान र छानबिनको घेराभित्र पर्नु भएको छ भने संसद्मा कुरा उठिसकेको अवस्थामा त्यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘राज्य अहिले गृहमन्त्रीमाथि छानबिन गर्ने गरी त्यही ढंगले अघि बढ्नुपर्ने अवस्था छ। त्यस्तो माननीयलाई पदमा बसिरहन नमिल्ने मान्यता संसद्मा स्थापित भएको छ। हिजो प्रतिपक्षमा बसेका दलले पनि उठाउनु भएको माग हो।’
उनले विवादमा परेका मन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि हटाएर आएको भनिसकेकाले गृहमन्त्रीले पद छाड्नुपर्ने बताए।
‘प्रतिपक्षको अपमान गर्ने मेरो आशय होइन। अहिले हामी प्रतिपक्षमा छौँ। हिजोका प्रतिपक्षले उठाएका कुरा हामी उठाउँदैछौँ’, उनले भने, ‘आज गृहमन्त्री अनुसन्धानको घेरामा हुनुहुन्छ। हामीले यो कुरा के भयो भनेर जवाफ मागेका छौँ। तर प्रधानमन्त्री संसद्मा आउँदै नआउने।’
सभामुखले प्रतिपक्षले उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताइरहँदा सरकार चाहिँ किन जवाफदेही हुन नसकेको भन्दै लेखकले प्रश्न गरे।
‘प्रधानमन्त्रीको जवाफ नआएसम्म उपप्रधान तथा गृहमन्त्रीको कार्यसूचीमा प्रवेश गर्न सक्दैनौँ’, उनले भने, ‘तर विनियोजन विधेयक र प्राथमिकताको सिद्धान्तालाई हामी रोक्दैनौँ।’
Shares
प्रतिक्रिया