प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको सहकार्य परैसम्म जाने निष्कर्ष सुनाएका छन्।
शुक्रबार पार्टी केन्द्रयीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा नयाँ राजनीतिक परिस्थितिबारे ब्रिफिङका क्रममा दाहालले यस्तो बताएका हुन्।
एमालेले अहिलेको परिस्थितिलाई गम्भीर रुपमा आकलन गरेको बताएका दाहालले दुई दल मिलेर अघि बढ्नुपर्ने निष्कर्षमा आफूहरू पुगेको बताएका छन्।
‘एमालेले पनि अहिलेको परिस्थितलाई गम्भीर रूपमा आँकल गरिरहेको थियो’, उनले भने, ‘यो अवस्थामा हामीले यसलाई पार लगाउनुपर्छ भनेका थियौँ। दुवै पक्षले गम्भीर मनन गरेपछि हामी एक ठाउँमा आइपुग्ने वातावरण बन्यो। त्यसरी यो गठबन्धन बन्यो।’
सरकारको सहकार्यका क्रममा कांग्रेसबाट लगातार भएका असहयोगले पनि फागुन २१ मा बनेको नयाँ गठबन्धनको बाटो खोलेको उनले बताए।
‘हामीले परिस्थितिको विश्लेषण गरिरहेका थियौँ। अर्थमन्त्रीबाट भएका असहयोगहरूले पनि समस्था थपेका थिए। कांग्रेस मन्त्री फेर्न मानेको थिएन’, उनले भने, ‘सरकार ढाल्ने कसरत पनि विभिन्न शक्ति केन्द्रले गरेका थिए। अहिले पनि उनीहरू लागेका छन् तर यो गठबन्धन परसम्म जान्छ।’
प्रचण्डले अहिले एमाले र माओवादीबीच पूरा विश्वासको वातावरण बनेको पनि बताए। ‘उहाँ (प्रचण्ड)ले एमालेतिर ढुक्कले विश्वास गरेको कुरा बैठकमा सुनाउनु भयो’, एकजना स्थायी समिति सदस्यले भने, ‘उहाँलाई अहिलेको गठबन्धनप्रति विश्वास छ। प्रचण्डले एमालेसँगको सहकार्य परसम्म जान्छ भन्ने निष्कर्ष सुनाउनु भएको छ।’
Shares
प्रतिक्रिया