ad ad

राजनीति


उही पद, एकै प्रकृतिको निधन : जसपाका २ सांसदलाई परेको दुःखद संयोग

उही पद, एकै प्रकृतिको निधन : जसपाका २ सांसदलाई परेको दुःखद संयोग

एकै प्रकृतिबाट निधन भएका जसपाका दुई सांसद सहनाज र मञ्जु।


नेपालखबर
चैत ४, २०८० आइतबार १२:५६, काठमाडौँ

जीवनमा सबै संयोगहरू सुखद हुँदैनन्। केही संयोग असाध्यै दुःखद हुन्छन्।

जनता समाजवादी पार्टी (जसपा)का दुई सांसदको जीवनमा यस्तै भएको छ। 

प्रतिनिधि सभाको समानुपातिक सांसद रहेकी मञ्जु अन्सारीको आइतबार बिहान निधन भयो। 

काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा अन्सारीको हृदयाघातबाट निधन भएको जसपाका नेता नवलकिशोर साहले जानकारी दिए।  

अन्सारी सांसद चुनिएको चैत ६ गते एक वर्ष पुग्दै थियो।  

जसपाको पोलिटब्युरो सदस्य रहेकी उनले सांसद चुनिएको १३ दिनपछि अर्थात् अघिल्लो वर्षको चैत १९ मा सांसद पदको शपथ खाएकी थिइन्। 

यसअघि जसपाबाट समानुपातिक कोटाबाट सांसद चुनिएकी सहनाज रहमानको २०७९ फागुन १३ मा निधन भएको थियो।

त्यसपछि जसपाले रिक्त ठाउँमा अन्सारीलाई सांसद बनाएको थियो। 

तर, सांसद बनेको एक वर्ष पनि नपुग्दै उनको पनि मृत्यु भएको हो। संयोग नै भन्नुपर्छ– दुवै सांसदको मृत्यु हृदयाघातकै कारण भयो। 

२०७९ फागुन १२ गते भक्तपुरमा वनभोज कार्यक्रममा सहभागी भएका बेला रहमानको मुटु दुखेको थियो। त्यसपछि अस्पताल भर्ना गरिएकोमा फागुन १३ गते बिहान अस्पतालले उनको मृत्यु भएको जनाएको थियो। 

जसपा केन्द्रीय सदस्यसमेत रहेकी रहमान झापा निवासी थिइन्।

यता, रहमानको पद रिक्त भएको ठाउँमा जसपाले मुस्लिम कोटाकै समानुपातिक बन्द सूचीमा रहेको दोस्रो नम्बरकी अन्सारीलाई २०७९ चैत १९ गते सांसदमा सिफारिस गरेको थियो।

तर, उनको पनि आइतबार बिहान ७ बजेर ५५ मिनेटमा सिभिल अस्पतालमा निधन भएको जसपाका उपनेता नवलकिशोर साहले जानकारी दिए।

रहनाजको मृत्यु भएपछि रिक्त पदमा लगिएकी अन्सारीको पनि एउटै प्रकृतिबाट निधन भएको हो। यो दुःखद संयोग विरलै देखिन्छ।  

को हुन् अन्सारी? 
अन्सारी ३४ वर्ष सक्रिय राजनीतिमा लागेकी थिइन। सर्लाही निवासी उनी ६० वर्षकी थिइन्।  

२०४६ सालमा तत्कालीन नेपाल सदभावना पार्टीबाट राजनीति थालेकी उनी सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्ष भइन। २०५६ सालको आम निर्वाचनमा सदभावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ को टिकट पाएर प्रतिस्पर्धा गरे पनि उनी पराजित भइन्। 

ऐतिहासिक जनआन्दोलन २०६३ सफल भए पनि अन्सारी उपेन्द्र यादवको मधेसी जनाधिकार फोरम पार्टीमा आवद्ध भइन।

संघीयताको पक्षमा भएको मधेस आन्दोलनमा पनि उनको सहभागिता रह्यो।  

तत्कालीन मधेसी जनअधिकार फोरमको केन्द्रीय सदस्य रहेकी उनको २०६४, २०७० र २०७४ मा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा नाम परे पनि सांसद बन्न सकेकी थिइनन्। 

१४ वर्षदेखि उपेन्द्रकै साथमा रहेकी अन्सारी संगठन बनाउन सक्षम रहेको नेताहरु बताउँछन्।

त्यसबेला उनले मधेसी जनाधिकार फोरमको उपत्यका इन्चार्ज भएर काम गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .