ad ad

राजनीति


इलाम उपनिर्वाचन : भाइलाई मैदानमा खटाएर धर्मगुरु भेट्न पुगे लिङ्देन

इलाम उपनिर्वाचन : भाइलाई मैदानमा खटाएर धर्मगुरु भेट्न पुगे लिङ्देन

नेपालखबर
चैत ४, २०८० आइतबार १५:३५, काठमाडौँ

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि तयारी तीव्र पारेको छ।

गत भदौ २६ गते इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्बाङको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। 

सो उपनिर्वाचनका लागि राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना सहोदर भाइ रवीन्द्रलाई इलाममा खटाएका छन्। 

पार्टीबारे जनताको धारणा बुझ्नका लागि उनलाई इलाममा खटाइएको राप्रपाले जनाएको छ। रवीन्द्र अहिले इलाममा चुनावलक्षित कार्यक्रममा सरिक छन्। उनी भेटघाट र पार्टी प्रवेश कार्यक्रममा सक्रिय छन्।

पार्टी नेतृत्वले अहिलेसम्म उम्मेदवारबारे भने टुंगो नगरिसकेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। ‘अहिले पार्टीका केही साथीहरू इलाममा खटिनुभएको छ, उम्मेदवारबारे केही टुंगो लागेको छैन,’ उनले भने। 

इलामको उपनिर्वाचनमा राप्रपा नेतृ लक्ष्मी गुरुङ उम्मेदवार बन्ने चर्चा छ। उनी राप्रपानिकट विद्यार्थी संगठनकी पूर्वकेन्द्रीय उपाध्यक्ष हुन्। अहिले उनी पार्टीकै केन्द्रीय शिक्षा विभागमा छन्। 

लिङ्देनको सक्रियता
इलामकै निर्वाचन लक्षित गर्दै अध्यक्ष लिङ्देनले पनि आफ्नो सक्रियता बढाएका छन्। शनिबार साँझ मात्रै झापाबाट फर्किएका लिङ्देनले प्रदेशदेखि जिल्लासम्मका विभिन्न नेतासँग छलफल गरे। 

उनले इलामको सोही क्षेत्रमा भोट प्रभावित पार्न सक्ने किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँग पनि भेट गरेका छन्। स्रोतका अनुसार आत्मानन्द राजेन्द्रका पनि गुरु हुन्। 

राजेन्द्रले सो क्षेत्रमा चुनावमा सहभागी हुनेबारे आत्मानन्दलाई जानकारी गराइसकेका छन्। 

आत्मानन्द माङसेबुङ गाउँपालिका–५ मा बस्छन्। सोही गाउँपालिकामा जन्मिएका ती गुरुसँग चुनावको बेला अन्य दलका नेताहरू पनि आशिर्वाद लिन पुग्छन्। 

स्थानीय जानकारहरूको भनाइमा, धर्मगुरु लिङ्देनले प्रभाव पार्न सक्ने त्यहाँ पाँच हजारभन्दा बढी मत छ। 

उनका अनुयायीहरू यस क्षेत्रमा धेरै भएको र पहिचानवादीको पनि प्रभाव पर्न सक्ने आकलनले यसपटक धर्मगुरुको आशिर्वाद कसले पाउँछन् भन्ने पनि चासोको विषय छ। 

तत्कालीन एमाले नेता नेम्बाङले पाँच पटकसम्म जितेको यस क्षेत्रमा उनका पुत्र सुहाङले पनि चुनावी तयारी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .