ad ad

राजनीति


दीपक मनाङेले लिए मन्त्रीको शपथ, सम्हाले भौतिक पूर्वाधार मन्त्रालय

दीपक मनाङेले लिए मन्त्रीको शपथ, सम्हाले भौतिक पूर्वाधार मन्त्रालय

नेपालखबर
चैत ५, २०८० सोमबार १६:४२, काठमाडौँ

एकीकृत समाजवादी पार्टी त्यागेको भोलिपल्टै गण्डकी प्रदेशको मन्त्रीमा नियुक्त दीपक मनाङे उर्फ राजीव गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्।

समाजवादी त्यागेको भन्दै स्वतन्त्र सांसदको हैसियतमा फर्काइदिन संसद् सचिवालयमा निवेदन दिएको भोलिपल्टै मनाङे गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका हुन्। 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई सोमबार मन्त्रीमा नियुक्त गरेका थिए। त्यसपछि उनलाई गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ दिलाए।

यसअघि यो मन्त्रालयमा नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली थिए। तर मुख्यमन्त्री पाण्डेले उनलाई बर्खास्त गरिसकेका छन्।

मनाङे २०७९ को प्रदेश सभा निर्वाचन मनाङ (ख) बाट निर्विरोध निर्वाचित भएका थिए। तर सत्ता फेरबदल चलिरहँदा उनी २०७९ मंसिर १९ गते आलोकनगरमै आएर एकीकृत समाजवादी पार्टी रोजेका थिए।

केन्द्र सरकारमा भइरहेको गठबन्धन फेरबदलको असर गण्डकीमा पनि परेर अस्थिरता सिर्जना हुन नदिन आफूले समाजवादी छाडेर स्वतन्त्र भएको उनले बताएका थिए। तर उनी कांग्रेससहितको सरकारमा सहभागी भएका हुन्। 

फागुन २१ गते बनेको नयाँ गठबन्धनका दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेको अवस्थामा गण्डकीमा सरकार बनाउन सहज नभएका बेला मनाङे कांग्रेसतिर मिसिएका हुन्। 

मनाङे स्वतन्त्र चुनाव जितेको तीन सातापछि एकीकृत समाजवादी प्रवेश गरेका थिए। तर राजनीतिक समीकरण फेरिएसँगै मनाङेले पार्टी छोडेर मन्त्री भएका हुन्।

नयाँ गठबन्धनले बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री पाण्डेले मनाङेलाई तानेका हुन्। सत्ता जोगाउने कोसिसमा रहेका पाण्डेले मनाङेलाई तानेसँगै राहतको श्वास फेरेका छन्।

नेपाल समाजवादी पार्टीका नेता तथा माओवादीको चुनाव चिन्हबाट सांसद भएका फडिन्द्र देवकोटाले पनि छुट्टै दलको हैसियत खोजेका छन्। उनलाई पनि पाण्डे आफ्नो पक्षमा तान्न लागेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि फकाउने अभियानमा पाण्डे छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .