दीपक मनाङेको नामबाट परिचित गण्डकीका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङले मन्त्री बनेसँगै आफू राजनीतिको वास्तविक मैदानमा आएको जिकिर गरेका छन्। आफू मन्त्री हुनु कुनै चमत्कार नभएको पनि उनको भनाइ छ।
‘त्यस्तो चमत्कार केही हैन, एक वर्षसम्म म यसो फुटबल–सुटबल खेलेर हिँडीराथेँ, यसो रेष्ट जस्तो। हिजो मलाई पनि के जोस आयो भने, अब यो चार वर्ष मैले नि राजनीति गर्नुपर्छ जस्तो लाग्यो। अब बल्ल राजनीति गर्छु भन्ने सोचिराछु। अस्तिसम्म जे गरिराँथे, त्यो सोसल वर्कजस्तो,‘ मन्त्रीको सपथपछि उनले भने,‘अब म रियल पोलटिक्समा आउँदैछु।’
उनले प्रदेशलाई मध्यावधिमा जानबाट रोक्न पनि आफूले सुरेन्द्रराज पाण्डेको सरकारमा मन्त्री भन्ने निर्णय गरेको जिकिर गरे। उनले चुनाव महँगो हुने र जग्गा बेचेर चुनाव लड्ने अवस्था नरहेकोको बताउँदै मध्यावधि जान नदिने र चुनाव भए पनि आफू नलड्ने बताए। उनले संकटको बेला नै आफ्नो भूमिका आवश्यक पर्ने भएकाले पनि यो निर्णय लिएको बताए।
राप्रपा र एकीकृत समाजवादीको समर्थन नपाउँदा यो सरकारले बहुमत पुर्याउन नसक्ने अवस्था रहेको र त्यस्तोमा के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘म त जाँदिन, घरीघरी यता जाऊ, फेरि माइकमा आएर बोल। अल्छी लाग्छ। मेरो काम छैन?’
उनले यो सरकारले बहुमत सिद्ध गर्न नसके र अर्को सरकार बन्ने अवस्थामा त्यसलाई पनि सहयोग गर्नसक्ने संकेत चाहिँ गरे।
उनले भने, मेरो कारणले उनीहरूको सरकार बन्छ भने म गर्दिन्छु।’
तपाईंलाई ह्विप लाग्दैन भन्ने प्रश्नमा उनले भने, ‘लागे लागोस् त मलाई के फरक पर्छ त नि। म जितिहाल्छु, उहाँहरुलाई गाह्रो हुन्छ।’
उनले सोमबार नै प्रदेश प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनले आफू स्वतन्त्र उम्मेदवार भएको र ह्विप लागे पनि कुनै अवसर नपर्ने पनि जिकिर गरे।
उनले बहुमत सिद्ध गर्ने र सत्ता टिकाउने जिम्मेवारी मुख्यमन्त्रीको भए पनि बताए। आफू बहुमत जुटाउने जिम्मेवारीमा नरहेको पनि उनको भनाइ थियो। भौतिक योजना मन्त्रालय नै किन भन्ने प्रश्नमा उनले सो मन्त्रालयमा सबैभन्दा बढी बजेट र भ्रष्टाचार हुने भएकाले रोजेको प्रतिक्रिया पनि दिए।
Shares
प्रतिक्रिया