जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
पूर्वसभामुख महरालाई हिरासतमा राखेर अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयले ७ दिनको म्याद मागेकोमा न्यायाधीश दुर्गाप्रसाद खनालले ४ दिन मात्रै दिएका हुन्।
कुनै पनि आरोपीलाई पक्राउ गरेपछि २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ।
महरालाई तस्करीको १४ किलो सुन प्रकरणमा जोडिएपछि सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।
पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको जाँचबुझ आयोगले सुन तस्करी प्रहरणमा उच्च राजनीतिक नेतृत्व पनि जोडिएको प्रतिवेदन दिएसँगै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरी निगरानी थिए।
प्रहरीको निगरानीमै रहेका बेला महरा उपत्यकाबाट बाहिरिए। उनी स्थलमार्ग हुँदै नवलपुरको बर्दघाट पुगेको अवस्थामा प्रहरीले पछ्याउन थालेको थियो। त्यसपछि उनलाई रोल्पा जान लागेको अवस्थामा कपिलवस्तुबाट पक्राउ गरेर जहाजमा भैरहवा हुँदै काठमाडौं ल्याइएको हो।
Shares
प्रतिक्रिया