प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नैतिकताको खडेरी लागेको टिप्पणी गरेका छन्।
गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै कांग्रेसले प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले सो अभिव्यक्ति दिएका हुन्।
सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै कांग्रेसले लामिछाने पदबाट हट्नुपर्ने माग गरिरहेको छ।
‘नेपाली कांग्रेसले रवि लामिछानेलाई अहिले आएर हट्नुपर्छ भन्ने कुराले नेपाली कांग्रेसमा नैतिकताको ठूलै खडेरी परेको देख्छु म। अहिले सदन अवरुद्धसम्म गरेर जुन जान खोज्नुभएको छ, त्यसले उहाँलाई केही गर्दैन’, कान्तिपुर टीभीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘आज यत्ति भन्छु कि रवि लामिछाने आफूतिर आउने भयो भने प्रधानमन्त्री पनि बनाउन अफर गर्दै हिन्ने, आफ्नो पक्षमा आएन भनेपछि गृहमन्त्री छोड्नुपर्छ भनेर भन्ने! यो के राजनीति भयो!’
उनले आफूले अनुसन्धानकर्ताहरूसँग बुझ्दा सहकारी ठगीमा गृहमन्त्री लामिछानेको कुनै गल्ती नदेखिएको दाबी पनि गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले आज यस विषयमा प्रतिनिधि सभामा विस्तृतमा जवाफ दिने बताएका छन्।
Shares
प्रतिक्रिया