उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणमा तय भएको छ।
दोस्रो पटक परराष्ट्रमन्त्री बनेसँगै श्रेष्ठको पहिलो विदेश भ्रमण कार्यक्रम बनेको हो। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा श्रेष्ठ चैत ११ गते बेइजिङ जान लागेका हुन्।
बेइजिङमा १२ गते श्रेष्ठले चीनका समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने तय भएको छ।
श्रेष्ठको चीन भ्रमण तय भएको पुष्टि गर्दै परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘बेइजिङमा चीनका समकक्षीसँग भेटवार्ता तय भएको छ, त्यो भन्दा माथिल्लो तहमा पनि भेट हुनसक्छ।’
परराष्ट्रमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाने तय भएपनि उनी दक्षिण चीनको हाइनानमा हुने बोआओ फोरममा भने सहभागी नहुने श्रेष्ठको सचिवालयका एक सदस्यले बताए।
चैत १३ गतेबाट चीनको हाइनानमा बोआओ फोरम हुँदैछ। यसअघि राष्ट्र प्रमुख वा सरकार प्रमुखले सहभागिता जनाउँदै आएको फोरममा यसपाली नेपालबाट कसले प्रतिनिधित्व गर्ने भन्ने अहिलेसम्म तय भैसकेको छैन।
‘परराष्ट्रमन्त्री श्रेष्ठ बेइजिङबाट सिचुवान, चोङचिङ र तिब्बत जाने कार्यक्रम बनेको छ’, परराष्ट्रमन्त्री श्रेष्ठको सचिवालयका ती सदस्यले भने, ‘तर बोआओ फोरममा जाने कार्यक्रम छैन।’
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले सिचुवान, चोङचिङ र तिब्बतमा चिनियाँ कम्युनिस्ट पार्टीका सचिवसँग भेटवार्ता गर्नेछन्।
करिब एक साता लामो चीन भ्रमणको क्रममा श्रेष्ठले तिब्बतको कैलाश मानसरोवरको पनि भ्रमण गर्ने कार्यक्रम बनेको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि चीन भ्रमणको क्रममा कैलाश मानसरोवरको भ्रमण गरेका थिए।
एमाले र रास्वपासहितको नयाँ गठबन्धनको सरकारमा परराष्ट्रमन्त्री भएपछि श्रेष्ठको यो पहिलो चीन भ्रमण हो।
Shares
प्रतिक्रिया