बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा ४ जनालाई नियुक्त गर्ने निर्णय गरेको छ।
सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस र जनमतनिकट सदस्य बाहिरिएसँगै नयाँ नियुक्ति भएको हो। कांग्रेसको कोटाबाट सदस्य बनेका डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा अनि जनमतको कोटाबाट सदस्य बनेका डा. जयकान्त राउतले गत २ चैतमा राजीनामा दिएका थिए।
उपाध्यक्ष मीनबहादुर श्रेष्ठ माओवादीनिकट भएकाले नयाँ समीकरणमा पनि उनले निरन्तरता पाएका छन्।
नवनियुक्त सदस्यमध्ये प्राडा सिंह र डा महत यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनलगत्तै एमाले कोटाबाट सदस्य नियुक्त भएका थिए। समीकरण फेरिएपछि उनीहरूले पद छाड्नुपरेको थियो।
यी हुन् नियुक्ति पाउनेहरूः
अरनिको पाँडे, ललितपुर
डा अरनिको पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन्। वायुमण्डलसम्बन्धी विज्ञ रहेका पाँडेले २०७९ सालमा ललितपुर-३ बाट स्वतन्त्र निर्वाचन लड्ने तयारी गरेका थिए। पछि रास्वपाकी डा. तोसिमा कार्कीलाई समर्थन गरेका थिए।
उनी वायुमण्डलीय वैज्ञानिक तथा हिमालय क्षेत्रको वायु प्रदूषण, जलवायु र दिगो विकासको विशेषज्ञ मानिन्छन्। अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातक गरेका उनले युनिभर्सिटी अफ विस्कन्सिनबाट स्नातकोत्तर र एमआईटीबाट विद्यावारिधि हासिल गरेका छन्।
एमआईटी र प्रिन्सटन विश्वविद्यालयबाट पोस्ट डक्टरेट अध्ययन पूरा गरी युनिभर्सिटी अफ भर्जिनियामा प्राध्यापनसमेत गरेको अनुभव उनीसँग छ।
शिवराज अधिकारी, पाल्पा
प्राडा शिवराज अधिकारी त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग प्रमुखको रूपमा कार्यरत छन्। उनी नेकपा एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्का सचिवालय सदस्यसमेत हुन्।
योजना आयोगमा सल्लाहकारको भूमिकामा रहँदै आएका अधिकारी अहिले सदस्यको भूमिकामा आएका हुन्। उनीसँग पाटन क्याम्पसमा करिब २० वर्ष प्राध्यापन गरेको अनुभव पनि छ।
संगीता सिंह, काठमाडौँ
प्राडा संगीता सिंह त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको विपद् अध्ययन केन्द्रमा उपनिर्देशकको रूपमा कार्यरत छिन्।
नेपाल राष्ट्रिय सहरी मञ्चकी संयोजकसमेत रहेकी उनले सहरी योजनामा विद्यावारिधि गरेकी छन्। सिभिल इन्जिनियरिङमा स्नातक गरेकी उनले जर्मनीको स्टटगार्ट विश्वविद्यालयबाट पूर्वाधार विषयमा स्नातकोत्तर गरेकी छन्।
कुशेन्द्रबहादुर महत, जुम्ला
डा कुशेन्द्रबहादुर महत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र व्यावसायिक प्रतिष्ठानमा संलग्न छन्। स्नातकोत्तरसम्म त्रिभुवन विश्वविद्यालय पढेका उनले केएन मोदी युनिभर्सिटी, नेवाई, राजस्थान, भारतमा व अध्ययन गरेका छन्। उनी व्यवस्थापनका विज्ञ मानिन्छन्।
महत कर्णाली प्रदेश सरकारले गठन गरेको कर्णालीको एकीकृत विकासका लागि विज्ञ समूहमा पनि थिए। विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी केही समय नेपाल मजदुर किसान पार्टीमा लागेर २०५४ मा एमाले प्रवेश गरेका थिए।
Shares
प्रतिक्रिया