पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिक अवस्था झन्डै निरंकुश पञ्चायत कालजस्तो भएको टिप्पणी गरेका छन्।
गणतन्त्र ल्याउन लडेका हिजोका धेरैजसो क्रान्तिकारीहरू आज सत्ताको स्वादमा भुलेर जनता र जनताका समस्यालाई बेवास्ता गरिरहेको आरोप पनि उनले लगाएका छन्।
यस क्रममा उनले आफूलाई पुष्पलाल श्रेष्ठसँग तुलना गर्दै एक्लो पारिएको चरम निराशा पनि व्यक्त गरेका छन्।
‘देशको अहिलेको राजनीतिक अवस्था करिब करिब २०३३/०३४ सालको निरंकुश पञ्चायती कालरात्रीजस्तो छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘...हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए। देशको आर्थिक÷सामाजिक रूपान्तरणको काम अधूरै रह्यो। युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेछन्। बाबुरामहरूजस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्। तर त्यो अरण्यरोदन बनिरहेछ।’
साथै उनले त्यो कालो इतिहास दोहोरिन नदिन आम नागरिकसँग अपिल पनि गरेका छन्।
भनेका छन्, ‘के इतिहासको गति रोकिन्छ तरु भनिन्छ- हिस्ट्री रिपिट्स, बिकाउज मिन रिपिट देअर मिस्टेक्स्! गल्ती सच्याऊँ, इतिहास दोहोरिन नदिऊँ।’
यस्तो छ डा. बाबुराम भट्टराईको पूरा भनाइ-
नयाँ पुस्तालाई थाहा नहुन सक्छ, तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करिब करिब २०३३/०३४ सालको निरंकुश पञ्चायती कालरात्रीजस्तो छ! मण्डलेतन्त्रको बिगबिगी थियो। जनतामा चरम निराशा थियो। प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए। बीपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरू राजासँग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए।
पुष्पलाल आफ्नै साथीहरूबाट “गद्दार” घोषित भएर एक्लिएका थिए। दिनदिनै रेडियोबाट समाचार आउँथ्यो- आज प्रनेका ( प्रतिबन्धित नेपाली कांग्रेस) का महामन्त्री पञ्चायत प्रवेश गरे! भोलि प्रनेकपा (प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी) का पोलिटब्युरो सदस्य पञ्चायत प्रवेश गरे। आदि इत्यादि।
मान्छे जिब्रो टोकेर कानेखुसी गर्थे - राजाको निरंकुश ‘पञ्चायती प्रजातन्त्र’ सय वर्ष टिक्ने भयो। अर्को वर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए। राजनीति अलि खुकुलो भयो। पार्टी छोडेर पञ्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले। फेरि पनि जनमत संग्रहमा बहुदललाई धाँधली गरेर हराइयो।
पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिएकै अवस्थामा “गद्दार” कै पगरी भिरेर संसारबाट बिदा भए। बीपीले केही वर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे। दस र्षभित्र अर्को जनआन्दोलन उठ्यो। बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिस्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बीपी र कम्युनिस्टका भित्तामा पुष्पलाल सजिए। परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाँ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो।
दस वर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन/मधेस विद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो। तर इतिहासको नियमैअनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए। देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो।
युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेछन्। बाबुरामहरूजस्ता केही “मूर्ख”हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गराैँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्। तर त्यो अरण्यरोदन बनिरहेछ। के इतिहासको गति रोकिन्छ त? भनिन्छ- History repeats, because men repeat their mistakes! गल्ती सच्याऊँ, इतिहास दोहोरिन नदिऊँ।
Shares
प्रतिक्रिया