प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि सहकारी ठगी प्रकरणको अनुसन्धान नै रोकिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेको छ।
मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद सुशीला थिङले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि तत्काल संसदीय छानबिन समिति बनाउन माग गरिन्।
‘रवि लामिछानेको ठाउँमा अरु जो कोही भएको भए कानुन लाग्थ्यो। रवि भएकोले अनुसन्धान नै रोकिने, यो कस्तो सरकार हो? जवाफदेही हुन पर्छ कि पर्दैन?,’ उनले भनिन्।
कांग्रेसले तत्काल संसदीय छानबिन समिति बनाउन माग गरेको उनले बताइन्। ‘सरकार गम्भीर नभए संसद्को बैठक वा कुनै पनि कामकारबाही हुने विषयमा सरकार नै जिम्मेवार हुन्छ,’ उनले भनिन्।
सडकमा सहकारी पीडित लाखौंको संख्यामा लडिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘अर्बौंको रकम अपचलन भएको कुरा आएको छ। यसमा सूर्यदर्शन सहकारी लगायता ६ वटाबाट करिब १ अर्ब रुपैयाँ गोर्खा मिडिया कम्पनीमा लगाइएको छ। यसरी लैजान पाउँछ कि पाउँदैन?’
उनले गोर्खा मिडिया ग्रुपका सञ्चालक र प्रबन्ध निर्देशकको खोजी गर्न पनि आग्रह गरेकी छन्।
‘यसको सञ्चालक खोज्न पर्दैन? अर्बौँ लिँदा सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई सजाय, दण्ड हुन्छ कि हुँदैन?,’ उनले भनिन्।
Shares
प्रतिक्रिया