नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगीबारे संसदीय छानबिन समिति गठनको दबाब छल्न सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको आरोप लगाएका छन्।
‘हामीले उठाएको माग नेपाली कांग्रेसको पार्टीगत नभई लाखौं सहकारी पीडितको अरबौं बचत हिनामिनाको विषय हो,’ देउवाले कांग्रेस संसदीय दलको बैठकमा बिहान भने, ‘यस्तो गम्भीर विषयलाई संसदीय छानविन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसदनै बन्द गर्ने निर्णय गरेको छ। यसबाट के पुष्टि हुन्छ भन्दा सरकार सहकारी पिडितका पक्षमा नभएको, सुशासनको पक्ष नरहेको र गैरजिम्मेवारी रूपमा प्रस्तुत भएको पुष्टि हुन्छ। तर, कांग्रेस पीडितको पक्षमा, सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइ रहनुपर्दछ।’
बैठकले अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताविरोधी ठहर गरेको थियो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
Shares
प्रतिक्रिया