ad ad

राजनीति


जसले जेल पुर्‍याइन्, महरालाई उनैले छुटाइन्

जसले जेल पुर्‍याइन्, महरालाई उनैले छुटाइन्

सागर न्यौपाने
फागुन ५, २०७६ सोमबार १३:४७,

‘मलाई न्याय प्रदान गर्ने सम्मानित अदालतप्रति कृतज्ञता प्रकट गर्दछु, कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने सबैमा धन्यवाद!’ डिल्लीबजार सदरखोर कारागारका सुरक्षाकर्मी र कैदीहरुसँग विदा भएर आफूलाई लिन पुगेका नेता–कार्यकर्ताको साथ लाग्दै पूर्वसभामुख कृष्णबहादुर महराले भने।

काठमाडौ जिल्ला अदालतले सोमबार सफाइ दिएपछि महरालाई रिहाइका लागि कागजी प्रक्रिया मिलाउन डिल्लीबजार कारागार पुर्‍याइएका थिए।

झण्डै डेढ घण्टा लगाएर कैदीहरुबाट औपचारिक विदाई ग्रहण गरेका उनले जेलभित्रै नेकपाका नेताहरुको बधाई पनि पाए।

१३५ दिन थुनामा रहेका रिहा भएपछि पत्रकारहरुलाई कुनै प्रतिक्रिया नदिई रातो रंगको कार चढेर निवास ललितपुरतर्फ लागे।

m-sir_1.jpg

फैसला आएपछि बोल्नै सकेनन् महरा
ढाका टोपी, खैरो रंगको कोट, कटराइज प्यान्ट र स्पोर्टस् सुजमा काठमाडौं जिल्ला अदालतको इजलास नम्बर १ अगाडि बसेका महरा सकारात्मक फैसला आउनेमा आशावादी थिए।

अदालत पुगेका नेकपाका केन्द्रीय सदस्य हिमाल शर्मा लगायत नेताहरुसँग उनले सफाइ पाउनेमा आफू विश्वस्त रहेको बताउँथे। सँगै रहेका छोरा राहुलसँग बेला–बेला उनी अदालतमा भइरहेको कामहरुको पछिल्लो अपडेट लिन्थे।

आइतबार फैसला नआएपछि सोमबार मात्र सुनाइने बताइएको थियो र उनको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो। त्यसैले महरा सोमबार बिहान सवा ११ बजे अदालत पुगेका थिए। तर, ११ बजे नै आउने भनिएको अन्तिम फैसला सवा २ बजेसम्म पनि सुरु भएन।

त्यो चारघण्टा महराले भेट्न आएकाहरुसँग कुराकानी गरेर बिताए। तर, पर्खाइको पीडाको उनको अनुहारमा प्रस्टै देखिन्थ्यो।

mahara088.jpg

चिया खान गएका न्यायाधीश अम्बरराज पौडेल इजलासमा प्रवेश गरेपछि अन्ततः उनले फैसला सुनाए।

‘महरामाथि माग दाबी गरिएको प्रमाण पुगेन मुद्दामा सफाइ दिएको छ,’ फैसला सुन्नेबित्तिकै महराले लामो सास फेरे। एकछिन केही बोल्नै सकेनन्। उनलाई त्यतिबेलासम्म घेरेर बसेकाहरु कोही हर्षका आँसु बगाउन थाले। धेरैजनाले भने फोनबाट ‘महरा सर’ले सफाइ पाएको सन्देश सुनाइरहेका थिए। फैसलालगत्तै उनलाई बधाई दिनेको घुँइचो लाग्यो।

प्रहरीले उनलाई अदालतबाट बाहिर ल्यायो र सेतो रंगको गाडीमा राखेर सदरखोर डिल्लीबजार पुर्‍यायो।

संसद् सचिवालयमा कार्यरत रोशनी शाहीलाई बलात्कार प्रयासको आरोप लागेपछि महराले असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

उनै शाहीको इन्कारी बयान नै महरालाई सफाइ दिने प्रमुख आधार बन्यो।

महराको मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले फैसलामा जाहेरीवाला शाहीले दिएको इन्कारी बयानलाई प्रमुख आधार बनाइएको बताए।

‘जाहेरीवाला (रोशनी शाही)ले अदालतमा उपस्थित भएर इन्कारी बयान दिनुभयो,’ श्रेष्ठले भने, ‘प्रहरीले नौ घण्टा आफूलाई राखेर जाहेरी दिएको र महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको बताइन्। उनको यही भनाइलाई अदालतले सफाइ दिनुपर्ने प्रमुख आधारका रुपमा लिएको छ।’

केही नबोली सीधै निवासतिर हानिए
महरालाई लिन रातो रंगको गाडी कारागारभित्रै लगिएको थियो। बा १८ च ४०० नम्बर उक्त गाडी महरालाई लिएर बाहिरियो र डिल्लीबजारबाट पुतलीसडक हुँदै ललितपुर लाग्यो।

Mahara_Jail.jpg

अदालतबाट बाहिरिँदा रिहा भएपछि मिडियामा बोल्छु भनेका महराले कारागारबाट बाहिरिँदा गेटमा बसेका पत्रकारसँग कुराकानी गरेनन्। उनले बाहिर बसेका समर्थकहरुले तयार पारेको मालासमेत ग्रहण गरेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .