ad ad

राजनीति


संसदीय छानबिन समिति बनाउन बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति

संसदीय छानबिन समिति बनाउन बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति

नेपालखबर
जेठ ५, २०८१ शनिबार १९:११, काठमाडौँ

सत्तारुढ र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच सो सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

‘मूलतः समिति बनाउने सहमति भयो। समितिको कार्यादेश (टीओआर) कस्तो हुने भन्ने विषयमा पनि काम गर्दै जाने भन्ने कुरा भयो,’ उनले भने।

‘सकारात्मक छलफल भएको छ, सकारात्मकरूपमै अघि बढ्छ भन्ने हामीले विश्वास लिएका छौँ,’ लेखकले भने, ‘समिति बनाएर जानुपर्छ भन्नेमा सबैको सहमति भएको छ।’

समिति गठन गरेर जाने भन्ने कुरामा सबै राजनीतिक दलहरूबीच समान धारणा बनेको भन्दै आजको छलफललाई उपलब्धिमूलक मान्नुपर्ने उनले बताए।

‘कार्यादेश के हुने भन्ने कुरामा पनि काम गर्ने कुरा भएको छ। समिति गठन गरेर जाने भन्ने कुरामा सबै राजनीतिक दलहरूबीच समान धारणा बनेको छ। आजका लागि यसलाई उपलब्धिमूलक भएको छ।’

सभामुख देवराज घिमिरेले भोलि (आइतबार) बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन्। 

त्यसअघि नै समितिको कार्यादेशमा काम हुने लेखकले जानकारी गराएका छन्। 

‘टीओआरमा भोलि बिहानैदेखि काम हुन्छ। साथीहरू बसेर छलफल गर्नुहुन्छ,’ उनले भने।

कांग्रेसले सहकारी ठगीका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै लामो समयदेखि संसद् अवरोध गर्दै आएको थियो। सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता देखिएको भन्दै कांग्रेसले उनको नामै किटेर छानबिन समिति बनाउन माग गर्दै आएको थियो। 

कांग्रेसले संसद् अवरोध गरेपछि संवैधानिक संकटसमेत आउन सक्ने चर्चाका बीच शनिबार दलहरूबीच सहमति जुटेको हो। यसअघि गत बिहीबार नै समितिको कार्यादेशको मसौदामा प्रारम्भिक काम भए पनि केही बुँदामा सहमति भएको थिएन। 

कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि शनिबार बिहानैबाट प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। 

बिहान कांग्रेसका नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री लामिछानेसँग परामर्श गरेका थिए। 

उनीहरू छलफलमै रहँदा कांग्रेस नेताहरूलाई बालुवाटारमा बोलावट भएको थियो। बालुवाटारमा कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन कुमार थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरू पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .