ad ad

राजनीति


प्रचण्डले कति सांसदबाट पाउलान् विश्वासको मत? यस्तो छ सत्तापक्षको आकलन

प्रचण्डले कति सांसदबाट पाउलान् विश्वासको मत? यस्तो छ सत्तापक्षको आकलन

सागर न्यौपाने
जेठ ६, २०८१ आइतबार २२:४२, काठमाडौँ

सत्ता राजनीति निकै पेचिलो बन्दै गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिने निर्णय लिएका छन्। एउटा सत्ताधारी दल नै विभाजित भएको र अरू केही दलमा पनि खिचातानी तीव्र चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। अझ सत्ता गठबन्धनकै केही दलका नेता प्रधानमन्त्री पद पाउने अपेक्षासहित विपक्षी दलसँग सघन वार्तामा रहेको भन्ने सूचना पाएकै बखत प्रचण्डले विश्वासको परीक्षणमा होमिनका लागि लिएको यो निर्णय कतिपयले जोखिमपूर्ण हुने ठानेका छन्।

विपक्षी दलहरू नेपाली कांग्रेसको नेतृत्वमा मोर्चाबद्ध बनिरहेको र सत्ताधारी दलभित्र पनि कचमच चलिरहेका बेला के प्रधानमन्त्री प्रचण्डले संसदको अंक गणित आफ्नो पक्षमा टिकाउन सफल होलान् त? अडकलबाजी अनेकन चलिरहेका बेला सत्तापक्षका नेताहरू भने यसमा ढुक्कजस्तै देखिएका छन्। 

रातभरिमा कुनै चामत्कारिक घटना नभएमा प्रधानमन्त्री प्रचण्डले चौथोपटक विश्वासको मत लिँदा कम्तीमा १ सय ५९ सांसदले समर्थन गर्ने आकलन सत्तापक्षको रहेको छ।

माओवादी केन्द्रका एक पदाधिकारीले बताएअनुसार, यसअघि पाएको मतभन्दा कम्तीमा २ बढ्ने आधार देखिएको छ।

यसअघि फागुन ३० गते विश्वासको मत लिँदा प्रचण्डलाई १ सय ५७ सांसदले प्रधानमन्त्रीमा समर्थन जनाएका थिए।

वैशाख ३१ गते उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले समर्थन फिर्ता लिएको छ। यादवको पक्षमा ५ सांसद छन्। यसअघि उनको दलमा १२ सांसद थिए। तीमध्ये ७ सांसद विद्रोह गरी अशोक राईको नेतृत्वमा बेग्लै दल दर्ता गर्न पुगेका छन्।

दल दर्ताको वैधानिकता विवाद अदालत पुगेको छ। तसर्थ जसपाका १२ वटै सांसद गन्ती नगर्दा पनि प्रचण्ड सरकार १४५ सांसदको समर्थनसहित बहुमतमा रहेको प्रधानमन्त्रीनिकट नेताहरूको बुझाइ छ। 

माओवादीका ती पदाधिकारीका भनाइमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी पार्टीले प्रचण्डलाई विश्वासको मत दिने निश्चित छ।

सभामुखसहित ७८ सांसद रहेको एमालेका एक सांसद निलम्बित छन्। सांसद वसन्त नेम्बाङ बिरामी छन्, जो संसदमा उपस्थित हुन सक्ने अवस्था छैन। सभामुखलाई समेत अलग गर्दा एमालेबाट ७५ मत प्रचण्डले पाउनेछन्। 

यस्तै माओवादी केन्द्रका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० सांसद पनि प्रचण्डको पक्षमा हुनेछन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शंका नगर्न सार्वजनिकरूपमै आग्रह गरिसकेका छन्।

‘हामी सरकारमा सहभागी छौं। त्यसैले हामीले विश्वासको मत नदिने प्रश्नै उ्ठ्दैन। इफ बट छैन,’ अध्यक्ष नेपालले आइतबार भने। 

तर, सरकारमा सहभागी यी दलको कुल मत जोड्दा १ सय ३८ हुन्छ, जुन बहुमतका लागि पर्याप्त हो।

६७ दिनअघि (फागुन ३०) प्रचण्डलाई ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी र तीनजना स्वतन्त्र सांसदले पनि मत दिएका थिए।
चौथोपटक पनि ती सांसदले मत दिए उनको पक्षमा १४५ सांसदको समर्थन हुनेछ।

नागरिक उन्मुक्तिका चारै जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने अध्यक्ष रन्जिता श्रेष्ठले बनाइन्। 'ह्वीप लगाउनैपर्दैन, हाम्रा चारै सांसदले प्रधानमन्त्रीलाई मत दिनुहुन्छ,' श्रेष्ठले ठोकुवा गरिन्।

यद्यपि, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पछिल्लो चरण सरकारसँग असन्तुष्टि जनाइरहेका भए पनि विश्वासको मत दिनेमा भने कुनै शंका नरहेको माओवादी नेताहरूको भनाइ छ।  

अन्य दुईजना स्वतन्त्र सांसदको साथ भने प्रचण्डले पाउनेमा कुनै शंका नरहेको प्रधानमन्त्रीनिकट ती नेताको भनाइ छ।

प्रचण्डको पक्षमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) उभिने प्रस्ट छ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेर राईले वैशाख २३ मा जसपा गठन गरेका थिए।

उनको पक्षमा ७ जना सांसद खुलेका छन्।

तिनै ७ जना सांसदले प्रचण्डलाई विश्वासको मत दिने अध्यक्ष अशोक राईले बताए।

राई नेतृत्वको जसपाबाट प्रचण्ड नेतृत्वको सरकारमा २ मन्त्री र १ राज्यमन्त्री सामेल छन्।

‘हाम्रो संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय नै गरिसक्यो,’ राईले नेपालखबरसँग भने, ‘हाम्रा सबै सांसद निर्धारित समयमै बैठकमा पुग्नुहुन्छ।’

तर, राई लगायतका नेतालाई विश्वासको मत दिन रोक्न माग गर्दै उपेन्द्र यादवले आइतबार (जेठ ६) सर्वाेच्च अदालतमा रिट दर्ता गरेका छन्।
रिटमाथि सोमबार (जेठ ७) नै सुनुवाइका लागि पेसी तोकिएको छ।

निर्वाचन आयोगले राई नेतृत्वको जसपालाई मान्यता दिएर दल दर्ता गरिसकेको छ। आयोगको उक्त निर्णयविरुद्ध यादवले दायर गरेको रिटमा सर्वोच्चले मंगलबार पेसी तोकेको छ। त्यतिन्जेल उक्त निर्णय कार्यान्वयनसम्बन्धी प्रक्रिया जहाँ पुगेको छ, त्यहीँ यथास्थितिमा राख्न सर्वोच्चको आदेश छ। त्यही आदेशका कारण अशोक राई नेतृत्वको समूहले विश्वासको मत दिन नपाउने तर्क गर्दै यादव आइतबार पुनः अदालतमा निवेदन लिएर पुगेका हुन्। उनले त्यस्तै निवेदन सभामुख देवराज घिमिरेसमक्ष पनि पेस गरेका छन्। 

तर राई नेतृत्वको दलका ७ सांसद थपिनेमा प्रधानमन्त्री प्रचण्ड ढुक्क छन् र यी समेत जोड्दा १५२ पुग्नेछ।

अब अन्य सांसद को हुन सक्छन् त?

माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले प्रचण्डलाई विश्वासको मत दिने प्रतिबद्धता जनाएको छ।

मधेस प्रदेशमा एमाले, माओवादी, जनमतसहित दलले सरकार बनाउने प्रयास गरिरहेका छन्।

उनीहरू एउटै गठबन्धनमा रहेकाले केन्द्रीय राजनीतिमा पनि प्रचण्डलाई विश्वासको मत दिने नेताहरू बताउँछन्।

‘सीके राउतजीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रतिबद्धता जनाउनुभएको छ,’ माओवादीका ती पदाधिकारीले थपे, ‘भोलिसम्म नाटकीय परिवर्तन नहोला। राजनीति उल्टिँदैन होला। आरामदायी विश्वासको मत पाउने कुरामा उहाँ (प्रधानमन्त्री) ढुक्क हुनुहुन्छ।’

६ सांसद रहेको जनमतका सबै सांसदले प्रचण्डलाई मत दिए उनले १५९ मत पाउनेछन्।

'जनमतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनेर पार्टीमा छलफल भएको छ, भोलि बिहान बैठक बसेर निर्णय गर्छौं,' जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले नेपालखबरसँग भनिन्, 'अहिलेसम्म दिने नै कुरा छ तर आधिकारिक निर्णय भइसकेको छैन। भोलि बिहान बैठकमा सबैलाई उपस्थित हुन ह्वीप जारी गरेका छौँ। दलको बैठकबाट निर्णय गर्छौँ।'

शनिबार (जेठ ५) मा पेरिसडाँडास्थित पार्टी कार्यालयमा एक किताबको विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत कहिले बढ्ने र कहिले घट्ने भइरहने बताएका थिए।  

लोसपासँग वार्ता 
प्रधानमन्त्री प्रचण्डले बिहीबार (जेठ ३) गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारीलाई सिंहदरबारमा बोलाएर विश्वासको मत दिन आग्रह गरेका थिए। यो कुरा नेता भण्डारीले पनि पुष्टि गरे। उनले भने, ‘उहाँ (प्रचण्ड) ले विश्वासको मत दिन आग्रह गर्नुभएको हो।’

तर, लोसपा नेपाली कांग्रेसले बनाएको विपक्षी खेमामा उभिएको छ।

कांग्रेसको अगुवाइमा राप्रपा र लोसपासहित पाँच दलको विपक्षी गठबन्धन बनेको छ।

सो गठबन्धन संसद अवरुद्ध गर्ने लगायतका विषयमा एक ठाउँमा उभिएको छ। 

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका साना दलले प्रचण्डलाई विश्वासको मत नदिने प्रस्ट पारिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .