कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस थालाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेका छन्।
कांग्रेसका सांसदहरूले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी हुनु प्रतिशोधपूर्ण रहेको प्रतिक्रिया दिइरहेका छन्। कान्तिपुरको कार्यालयमा कांग्रेस सांसद रामहरी खतिवडा, राजेन्द्र बजगाईं, रामनाथ अधिकारी, रामकृष्ण यादव, नागिना यादव लगायतका नेताहरू थापाथली पुगेका हुन्।
कांग्रेस सांसद बद्रि पाण्डेले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पनि यो विषय उठाएका थिए।
सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रसंगमा उनले भनेका छन्, ‘कानुनी कारबाहीको दायरामा हरेक नागरिक आउनुपर्छ। तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन, कसैलाई सहँदैन।’
धनुषा जिल्ला अदालतले सिरोहियाको नागरिकता छानबिनका लागि मंगलबार प्रहरीलाई पक्राउ अनुमति दिएको छ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमै अर्का व्यक्तिको पनि नागरिकता पाइएको भनी गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो।
सिरोहियाले भने आफ्नो नागरिकता सही भएको र व्यक्तिगत प्रतिशोधका आधारमा आफूविरुद्ध झुटो आरोप लगाएको भनी खण्डन गरेका थिए।
तस्बिरहरूः
Shares
प्रतिक्रिया