ad ad

राजनीति


कांग्रेस सांसदहरू भन्छन् : ओलीले खेल खेले, संसदलाई ब्यारेक बनाइयो

कांग्रेस सांसदहरू भन्छन् : ओलीले खेल खेले, संसदलाई ब्यारेक बनाइयो

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १६:१२, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरूको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको छ।

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेर संसद बैठकमा नाराबाजी गरिरहेको नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरूको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको हो।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेसका सांसदहरूले सत्ताले संसदलाई ब्यारेक बनाएको बताएका हुन्। उनीहरूले संसदलाई ब्यारेक जस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा बैठक सञ्चालन गरेका पनि बताएका छन्।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संसदमा बल प्रयोग गरेर लोकतन्त्रका मूलभूत मूल्य र मान्यतामाथि प्रहार गरिएको बताए।

उनले सत्तापक्षबाट संविधान र संघीय शासन प्रणालीमाथि नै धावा बोल्ने काम भएको जिकिर गरे। उनले प्रतिपक्ष दलको अवरोध भइरहँदा संसद बैठक सञ्चालन हुनु भत्र्सनायोग्य भएको भन्दै सरकारको यस कदमको प्रतिरोध गरिने बताए।

उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन भएको प्रस्ताव संसदमा नआएसम्म आफूहरूको अवरोध जारी रहने पनि बताए। सांसद पाण्डेले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० संसदबाट फिर्ता लिनुको आशय दलहरू फुटाउनलाई सहजता प्रदान गर्नु रहेको बताए।

उनले भने – ‘संसदलाई ब्यारेक बनाउनका लागि सत्ताले बाटो लिइसकेको हामीलाई महशुस भएको छ। सदन विचार र सिद्धान्तकै द्वन्दात्मक थलो हो। तर यसलाई बाहुबलको थलो बनाउने, बल प्रयोग गर्ने कुराले लोकतन्त्रका मुलभुत मूल्य र मान्यतामाथि प्रहार गरेको छ। यो व्यवस्था र संविधानमाथि नै प्रश्नचिन्ह लगाउने, एउटा सहकारी ठगलाई जोगाउनका लागि लोकतन्त्रको मूल्य, मान्यतामाथि धावा बोल्ने। हाम्रो संविधानमाथि धावा बोल्ने र हाम्रो संघीय शासन प्रणालीमाथि धावा बोल्ने काम सत्ताबाट जुन भएको छ, त्यो भत्र्सनायोग्य छ।’

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सभामुखले संसदलाई ब्यारेकजस्तो बनाएर आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा जबरजस्ती बैठक सञ्चालन गरेका बताए।

उनले संसदीय छानबिन समिति बनाउने कुरामा अलमल गरेर एमाले अध्यक्ष केपी ओलीले खेल खेलिरहेको बताए। उनले अवरोधकाबीच संसद बैठक चलाउनुले संसदीय परम्परामाथि कालो धब्बा लागेको पनि बताए।

उनले भने, ‘संसद होइन ब्यारेक जस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा, संसदीय अभ्यासको बर्खिलापमा जबरजस्ती सञ्चालन गर्न खोज्नुभएको छ। यो राम्रो बाटोमा गइराखेको छैन। हामी संसदीय समिति नबनेसम्म संसदलाई अगाडी जान दिने स्थितिमा छैनौँ। समिति बनाउने कुरामा, टिओआर बनाउने कुरामा अलमल गरेर केपी ओलीजीको पनि आफ्नो खेल छ।’

नेपाली कांग्रेसकै सांसद रामहरी खतिवडाले संसद बैठकमा सभामुखको कामप्रति नेपाली कांग्रेसको विरोध रहेको बताए। उनले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिएर अध्यादेश ल्याइ पार्टीहरू फुटाउनेतिर लाग्न लागेको आरोप लगाए।

उनले भने, ‘नयाँ पार्टी भनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षले संसदमा आएको विधेयक फिर्ता गरे। यो आपत्तिजनक छ। अब अध्यादेशबाट ल्याएर उनहरू पार्टी फुटाउनेतिर लाग्दै हुनुहुन्छ। यो घोर आपत्तिजनक छ। सभामुखको कामप्रति नै हाम्रो विरोध थियो।’

नेपाली कांग्रेसकी सांसद कल्पना चौधरीले संसद बैठकस्थलमा मर्यादापालकहरूले सांसदहरूलाई अमर्यादित व्यवहार गरेका बताइन्। उनले मर्यादापालकहरूको संख्या बढाएर कांग्रेसका सांसदहरूमाथि आक्रमण गर्न लगाइएको बताइन्। उनले प्रधानमन्त्री स्वयं आफूहरूमाथि जाइलाग्न खोजेको आरोप पनि लगाइन्।

नेपाली कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .