नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलक्षित मात्रै छानबिनको विषय नउठाएको दाबी गरेका छन्।
आइतबार काठमाडौँको भृकुटिमण्डपमा आयोजित सडक आन्दोलनलाई सम्बोधन गर्दै सांसदसमेत रहेका शर्माले गृहमन्त्री रविको मात्रै नभई ७३ लाख सहकारी पीडितको विषय उजागर गर्न लागेको बताए।
‘कांग्रेसले रविमात्रै प्रश्न उठाएको होइन। हामी ७३ लाख मान्छेको विषय उठाइरहेका छौँ,’ उनले भने।
उनले अघि थपे, ‘कांग्रेस रवि गाँसिएको सहकारी वा मिडिया मात्रै होइन, देशका प्रत्येक सहकारी जहाँ बचतकर्ताले मेरो पैसा फिर्ता चाहियो भनेर भनेका छन्, त्यो फिर्ता हुनुपर्छ भनेर अपेक्षा राखेका छौँ।’
उनले सत्तारुढ दल नेकपा एमालेका कार्यकर्तालाई सहकारी ठग कि पीडितको पक्षमा उभिने भन्दै प्रश्न गरे।
‘यो कांग्रेसको मात्रै मुद होइन, समग्रको मुद्दा हो। मिडियालाई सोध्न चाहन्छौँ, तपाईं सहकारी पीडितको पक्षमा हो कि होइन, एमालेभित्रका युवालाई पनि सोध्न चाहन्छौँ, तपाईं पीडितको पक्षमा कि ठगहरूको पक्षमा?,’ महामन्त्री शर्माले प्रश्न गरे।
Shares
प्रतिक्रिया