नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा सत्य नभएको बताएका छन्।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले तथ्यलाई अहिले हल्लाले छोपेको बताए।
‘कसैले के भन्छन् भने नयाँ पार्टी आए। किन नयाँ पार्टी आए रे, भने जनता पुराना पार्टीसँग रिसाएर नयाँ पार्टी आयो रे! तर मलाई त्यस्तो लाग्दैन। हामी समस्या आइसकेपछि समाधान खोज्नेतिर जानुपर्छ। तथ्यलाई अहिले हल्लाले छोपेको छ,’ उनले भने।
उनले पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय भएको नभइ नयाँ संविधानले जन्माएको जिकिर गरे।
साथै, शिर उठाउने गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीले लामिछाने, बालेन र हर्कहरूलाई निर्वाचित गरेको उनको भनाइ थियो।
‘तथ्यले के भन्छ भने बालेन आए, हर्क आए, रविहरू आए। तर उनीहरूले भोट पाए, चुनाव जिते पुराना पार्टीहरूसँगको निराशाले होइन। बालेन, हर्क र रविहरू नयाँ संविधानले जन्माएका हुन्। यदी यो संविधान हाम्रो त्यति ठूलो बलिदानबाट, कुर्वानीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरूको यहाँ उपस्थिति देखिँदैन थियो।’
Shares
प्रतिक्रिया