राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी कार्यक्रममा सहभागिता जनाएर शनिबार राति जर्मनी पुगेका छन्। राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपति फ्यांक–वाल्टर स्टिनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा पुगेका हुन्।
जेनेभाबाट जर्मनीको राजधानी बर्लिन पुगेका राष्ट्रपति पौडेललाई बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मनीका राष्ट्रपतिको संघीय परराष्ट्र मामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए।
राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच सोमबार औपचारिक भेटवार्ता हुने कार्यक्रम छ। यो कार्यकारी तहको भ्रमण नभएकाले मैत्रीपूर्ण भेटघाट बाहेकका अन्य एजेन्डा परराष्ट्र मन्त्रालयले राखेको छैन।
३८ वर्षपछि राष्ट्रप्रमुखको भ्रमण
राष्ट्रप्रमुखको तहबाट ३८ वर्षपछि राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा गएका हुन्। नेपालको तर्फबाट पहिलोपटक सन् १९८६ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यले राजकीय भ्रमण गरेका थिए। त्यसयता नेपालबाट राष्ट्रप्रमुखको तहबाट औपचारिक भ्रमण हुन सकेको थिएन।
सरकारको तहबाट भने केही फाट्टफुट्ट भ्रमण भएका छन्। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ र सन् २००० मा जर्मनीको भ्रमण गरेका थिए। त्यस्तै तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि सन् १९९५ मै भ्रमण गरेका थिए।
तत्कालीन उपप्रधान तथा रक्षामन्त्री माधवकुमार नेपालले सन् १९९५ मा जर्मनीको भ्रमण गरेका थिए। त्यस्तै परराष्ट्रमन्त्रीका हैसियतले उपेन्द्र यादव सन् २००९ मा र उद्योग मन्त्री लेखराज भट्ट सन् २०१२ मा जर्मनी पुगेका थिए।
जर्मनीका लागि राजदूत भइसकेका परराष्ट्र मन्त्रालयका पूर्वसचिव डा. मदन भट्टराई नेपालकै कारण राष्ट्रप्रमुख तहको भ्रमण हुन यत्रो समय लागेको बताउँछन्।
‘भम्रण नहुुनुमा हाम्रो आफ्नै कारण हो,’ नेपालखबरसँग उनले भने, ‘लामो समय द्वन्द्व भयो। हामी आफ्नै समस्यामा अल्झियौं। कहिले हामी चुनावतिर लाग्यौं। संविधान बनाउन पनि हामीलाई धेरै समय लाग्यो।’
तर जर्मनीबाट भने अहिलेसम्म राष्ट्रप्रमुख र सरकार प्रमुखको नेपाल भ्रमण भएको छैन। सन् २०२० मा जर्मनकी प्रथम महिला एल्के बुडेनबेन्डर युनिसेफको संरक्षकका रूपमा नेपाल आएकी थिइन्।
यो नै जर्मनीबाट भएको उच्च तहको भ्रमण हो। उनले तत्कालीन राष्ट्रपति विद्या भण्डारी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गरेकी थिइन्। विभिन्न संसदीय प्रतिनिधिमण्डल भने बेलाबेला जर्मनीबाट नेपाल आइरहन्छन्।
जर्मनीका केही सरकार प्रमुखले नेपाल भ्रमणमा आउने इच्छा जाहेर गरेका थिए। तर, नेपालकै तत्कालीन राजनीतिक परिस्थतिका कारण त्यो सम्भव हुन नसकेको पूर्वराजदूत डा. भट्टराईको भनाइ छ। उनी सन् २००४ देखि २००९ सम्म जर्मनीमा नेपालको राजदूत थिए। त्यो बेला जर्मनीकी तत्कालीन चान्सलर ऐंगेला मर्केलले नेपाल आउने इच्छा जाहेर गरेकी थिइन्।
‘त्यसबेला चान्सलर एंगेला मर्केलले पनि चासो देखाउनुभएको थियो,’ भट्टराईले भने, ‘तर, हुन सकेन।’
त्यसको कारण बताउँदै उनले थपे, ‘उनीहरूलाई अप्रत्यक्षरूपमा हामी द्वन्द्वमा छौं, आफैं समस्यामा भएकाले अहिले भ्रमण गराउन सक्दैनौं भन्ने खालको कुरा राजनीतिक तहबाट आएको थियो।’
नेपालको पुरानाे सहयोगी
कूटनीतिज्ञहरूका अनुसार, जर्मनी सधैँ नेपालको सहयोगीका रूपमा रहँदै आएको छ। सन् १९६१ मा थापाथलीमा प्राविधिक तालिम संस्थान स्थापना गर्न सहयोग गरेर नेपालमा सहयोगको सुरुवात गरेको थियो।
मध्यमर्स्याङ्दी जलविद्युत अयाोजना बनाउन जर्मनीले नै सहयोग गरेको थियो। त्यस्तै हिमाल सिमेन्ट कारखाना, चोभार, जनकपुर र दमौलीमा कृषि केन्द्र स्थापना गर्न पनि जर्मनीले आर्थिक सहयोग गरेको थियो।
सन् २०१५ मा पनि जर्मनीले राम्रो सहयोग गरेको थियो। नेपाललाई ३० मिलियन युरो सहयोग गरेको थियो। त्यस्तै कोभिड–१९ विरुद्ध लड्न पनि प्राविधिक सहयोग गरेको थियो।
जर्मनी नेपालको महत्त्वपूर्ण व्यापारिक साझेदार पनि हो। परराष्ट्र मन्त्रालयका अनुसार वार्षिकरूपमा ५ देखि १० अर्ब रुपैयाँको कारोबार हुने गरेको छ।
नेपालले जर्मनीमा प्रमुख रूपमा नेपाली कार्पेट निर्यात गर्ने गरेको छ। त्यस्तै नेपाली हस्तकला, चाँदीका गहना, छाला, काठ, बाँस, दाल, चियालगायत वस्तु पनि निर्यात गर्ने गरेको छ।
जर्मनीबाट नेपालले मुख्य गरी उद्योगका कच्चा पदार्थ, रासायनिक उपकरण, विद्युतीय सामग्री, सवारी साधनलगायत वस्तु आयात गर्ने गरेको छ। यद्यपि, अन्य देशमा जस्तै नेपालले जर्मनीसँग पनि व्यापारमा घाटा खाइरहेको छ।
करिब ११५ आयोजनामा लगानी गरिरहेको जर्मनीले नेपालमा पर्यटक पनि पठाउने गरेको छ। करिब ४० हजारको हाराहारीमा जर्मनीका पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन्।
नेपालले दक्षिण कोरियामा जस्तै जर्मनीमा पनि नेपाली कामदार पठाउने गरी सम्झौता गरेको छ।
Shares
प्रतिक्रिया