ad ad

राजनीति


३८ जिल्ला घुमेपछि रास्वपा टोलीको ठहर– ‘बोल्ड निर्णय’ नगरे पार्टी जोगाउनै कठिन

प्रतिवेदन तयार हुँदै, पार्टी बैठकमा गम्भीर समीक्षाको तयारी
३८ जिल्ला घुमेपछि रास्वपा टोलीको ठहर– ‘बोल्ड निर्णय’ नगरे पार्टी जोगाउनै कठिन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र महामन्त्री डा. मुकुल ढकाल (तस्बिर : रास्वपा वेबसाइट)


नेपालखबर
असार ८, २०८१ शनिबार २०:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल यतिबेला धमाधम एउटा प्रतिवेदनमा काम गरिरहेका छन्। 

पार्टी स्थापनाको झण्डै ६ महिनामा संसद्को चौथो ठूलो दल बनेको रास्वपाले गत १५ वैशाखको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा व्यहोर्नुपरेको पराजयपछि ‘समीक्षा यात्रा’ सुरु गरेको थियो। 

रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले नेपालखबरलाई दिएको जानकारी अनुसार, ३८ जिल्लाबाट आएका सुझाव र अपेक्षालाई एकीकृत गर्दै महामन्त्री ढकालले अहिले प्रतिवेदन लेखिरहेका छन्।

पार्टी केन्द्रकै सल्लाह र निर्देशनमा महामन्त्री ढकाल गत जेठ ६ गते एक महिने देशव्यापी यात्रामा निस्किएका थिए। 

ढकालका अनुसार, यो एक महिनाको अवधिमा उनी ३८ जिल्ला पुगे। ती जिल्लाका २ हजार ७९ जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिया गरे।८० किलोमिटर पैदल र ४ हजार २ सय १६ किलोमिटर सडक यात्रा सकेर गत बुधबार (असार ५) गते महामन्त्री ढकाल काठमाडौँ आइपुगे।

‘उहाँ (मुकुल ढकाल)ले लगभग प्रतिवेदन तयार पारिसक्नुभएको छ, केही सम्पादनको काम बाँकी छ,’ सहमहामन्त्री बुर्लाकोटीले भने, ‘उक्त प्रतिवेदनसहित केही दिनमै पार्टी बैठक बसेर समीक्षाबारे जानकारी गराउँछौँ।’

पार्टी सभापतिबाट चुनाव चिन्ह ‘घण्टी’ लिएर समीक्षा यात्रामा निस्किएका महामन्त्री ढकाल काठमाडौँदेखि डोल्पासम्मका विभिन्न जिल्ला पुगेका थिए।

समीक्षा यात्रा सकेर फर्किएका ढकालले पार्टी स्थापना दिवसको शुभकामना सन्देशबाटै ‘जोखिम मोलेर भए पनि बोल्ड निर्णय गर्नुपर्ने’ बताएका छन्। 

उनले पार्टी जोगाउने वा नजोगाउने? प्रश्न गर्दै औचित्यमाथि नै प्रश्न उठाएका छन्। 

‘राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो? गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि हामी खडा छौँ,’ महामन्त्री ढकालले भनेका छन्, ‘यो प्रश्न आइसक्यो र यो प्रश्न छ भनेर सार्वजनिक स्वीकारोक्ति गर्दै हामीमा केही परिवर्तन गरी अघि बढेनौँ भने गाह्रा दिन सुरू भए।’

महामन्त्री ढकालले जनतामा पार्टीप्रतिको भरोसा जोगाइराख्नका लागि सचेतनासहित बोल्ड निर्णय लिनुपर्ने बताएका छन्। 

‘पार्टी जोगाउने हो, नेपाली जनताको आशा भरोसा जगाइराख्ने हो भने हामीले उच्च सचेतनासहित जोखिम लिएरै भए पनि केही बोल्ड  निर्णय गरेर जानुपर्छ,’ उनले भनेका छन्, ‘मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हिच्किदैनौँ।’

महामन्त्री ढकालले जस्तै विश्लेषण पार्टी सभापति रवि लामिछानेको पनि छ। उनले पनि दोस्रो वर्षगाँठको शुभकामना सन्देशमा भनेका छन्, ‘...भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ।’

पार्टीका दुई नेताको यस प्रतिक्रियाले प्रस्ट पारेको छ, यतिबेला रास्वपाले हिँडेको राजनीतिक बाटोमा स्वयं नेतृत्व खुसी र सन्तुष्ट छैन। सफलताका लागि निर्मम समीक्षा र पुनरवलोकन गर्नुपर्ने उसको निष्कर्ष छ।

‘आशा र अपेक्षासहितका अग्लाअग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ। कयौँ कठिनाइलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन,’ सभापति लामिछानेले अघि भनेका छन्, ‘वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौँ।’

रास्वपाले हिजो (शुक्रबार) मात्रै पार्टीको दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ।

पार्टी स्थापनाको दुई वर्षमा अनेकन सिकाइका पाठ मिलेको अनुभव सुनाउँछिन्, रास्वपा सांसद सोविता गौतम।

‘पक्कै पनि यो दुई वर्षमा धेरथोर सिस्टमका बारेमा बुझ्न सहयोग मिल्यो,’ गौतमले नेपालखबरसँग भनिन्, ‘अबका दिनमा काम गर्न केही सहज हुन्छ भन्ने विश्वास लिएकी छु।’

उनले यसबीचमा पार्टीका बारेमा भएका आलोचना, कमी-कमजोरी लगायतका विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .