पूर्वनिर्धारित कार्यक्रम अनुसार वृक्षरोपणमा हिँडेका नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पहिरोका कारण कार्यक्रम स्थलमा पुग्न सकेनन्।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले धरान उपमहानगरपालिका–२० मा पर्ने अति विकट क्षेत्र विष्णुपादुकाको बङ्सिलामा वृक्षरोपण कार्यक्रम राखेको थियो।
तर बाटोमा पहिरो आएको र ढुङ्गा खस्न नरोकिएपछि नेता कोइरालाले निर्धारित स्थान भन्दा ३ किमीको दूरीमा लालिगुराँसको बिरुवा रोपेर विराटनगर फर्केका छन्।
पहिरोले बाटो अवरुद्ध भएपछि कोइरालाले डेढ घण्टा जति स्थानीयसँग भलाकुसारी गरेका थिए। धरान उपमहानगरपालिका–२० मा पर्ने बङ्सिला भौगोलिक रुपमा अति विकट मानिन्छ।
लालीगुराँस संरक्षण अभियान
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले लालीगुराँस रोपेर संरक्षण अभियान थालनी गरेको छ।
गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेमा समेत गुराँस मासिँदै गएपछि कोइरालाले चासो दिएका छन्।
बिरुवा रोप्ने क्रममा उनले लालीगुराँस लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे। यस क्षेत्रको विकासको निम्ति लालीगुराँस अत्यन्तै महत्त्वपूर्ण रहेको र पर्यटन प्रवर्द्धनमा कोशेढुँगाको रुपमा स्थापित हुने धारणा राखे।
धरानको विकट क्षेत्रमा पनि विकासको लागि यस्ता रचनात्मक कदमको जरुरी रहेको र लालीगुराँस संरक्षण अभियान निरन्तर लाग्नुपर्ने बताए।
Shares
प्रतिक्रिया