सरकारले लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको काम गर्ने गरी जिम्मेवारी दिएको छ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारीमा निरन्तर गर्ने निर्णय गरेको श्रममन्त्री डीपी अर्यालले जानकारी दिए।
बहालावाला मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालदमा भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै उनी आइतबारबाटै निलम्बनमा परेका थिए। गड्तौलाले आइतबार नै निमित्त मुख्य सचिवका रूपमा काम गर्न थालिसकेकी हुन्।
अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने मन्त्री अर्यालले बताए।
तर गड्तौला आउँदो भदौ महिनामा ५८ वर्षे उमेर हदले अनिवार्य अवकाशमा जाँदै छन्।
निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्याललाई भने सरकारले राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहकै विशेष पद सिर्जना गरेर त्यता सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मुख्यसचिव अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगिएको हो।
यसअघि २०६३ सालमा पनि तत्कालीन मुख्यसचिव लोकमानसिंह कार्कीलाई विशेष दरबन्दी सिर्जना गरेर योजना आयोगमा सारिएको थियो।
Shares
प्रतिक्रिया