राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको बताएका छन्।
सोमबार काठमाडौँमा सहकारी पीडितहरुको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले नागरिकले भविष्यका लागि दुःख गरेर जम्मा पारेको रकम राज्य सत्तामा बस्नेहरुबाटै लुटिएको बताए।
साथै, राज्य सत्तामा बस्नेहरुले ठूलो आन्दोलन नगरी सहकारीबाट लुटिएको रकम नदिने उनको भनाइ थियो।
‘एउटा नेपाली उखान छ, हातले दिएर खुट्टालाई दुःख भनेजस्तो तपाईंहरूले खाइ नखाइ भोलि बुढेसकाललाई चाहिएला, बिरामी हुँदा चाहिएला, छोराछोरी पढाउन चाहएिला भनेर सहकारीमा जम्मा गरेको रकम आज राज्य सत्तामा बस्नेहरुले नै लुेटका छन्। तपाईंहरुसँग आएर जति पनि मिठा कुरा गरेपनि आन्दोलन बेगर यिनीहरू डराउनेवाला छैनन्,’ उनले भने।
नेपाली जनताको पसिना राज्य सत्तामा बस्ने र राज्यसत्ताको आडमा लुटिएको उनले जिकिर गरे। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको भन्दै केसीले आपत्ति जनाएका छन्।
‘यनीहरू पल्किसकेका छन्। नेपाली जनताको पसिना राज्य सत्तामा बस्नेहरूले, राज्य सत्ताको आडमा नेपाली जनताको पसिनामा पौडी खेल्न पाइँदैन, नेपाली जनताले एक एक हिसाब गर्दछन् भनेर सदनमा बन्दै आएको छु। अब त सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको छ। जसले कारबाही गर्ने हो, त्यही ठाउँमा राखेपछि यी राजनीतिक पार्टीहरूले के गर्दछन्। यो समिति सहकारी ठगलाई बचाउन बनेको समिति हो,’ उनले भने।
Shares
प्रतिक्रिया