विवेकशील साझा पार्टीका महासचिव रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकाललाई दुर्घटनाबाट जोगिन आग्रह गरेकी छिन्।
देशका ३८ जिल्ला घुमेर समीक्षा प्रतिवेदन सभापतिलाई बुझाएको खबर सुनेको खबर पाएको उल्लेख गर्दै दर्शनाले विवेकशीलको जस्तो अवस्था आउला भन्ने गरेको पनि सुनेको बताएकी छिन्।
‘यस्ता दु:खका कुराहरूबीच पनि मलाई अचम्म चाहिँ के विषयमा लागि रहेको छ भने यहाँहरूमाथि भएको आभास र ‘तल पुग्न लागेको’ आभास पनि विवेकशील साझाको नाम लिएरै गर्नुहुन्छ तर हामीहरूको कठिन यात्राबाट भने सिक्नुहुन्न’ उनले भनेकी छिन्।
उनले ‘एक जनाको वरपर घुम्ने भनेको फुलको वरपर भमरा हो’ पनि भनेकी छिन्।
उनले अहिलेसम्म सिक्नुपर्ने कुरा सिक्नका लागि समय नमिलेको हुनसक्ने बताउँदै अब सिक्न समेत आग्रह गरेकी छिन्।
‘एक जनाको वरपर फनफनी घुम्न मिल्ने भनेको फुलको वरपर भमरा हो एक व्यक्तिको वरपर एउटा सिङ्गो दल होइन। त्यसैले, मुकुलजी, दलको नीति अधिवेशन, महाधिवेशन गर्ने समय ढल्की सक्यो— तपाईँहरू दुर्घटनामा नपर्नुहोस्,’ उनले भनिन्, ‘हाम्रो इतिहास, लडाइँ, भोगाई, थकाई र सिकाइले हामी हिँडिरहनेछौ र हाम्रो भोगाइबाट तपाईँहरूले सिक्नुपर्ने थियो, सत्ताको रस पसेर हो कि, निकै कम समयमा संसद् भवनभित्र बसेर हो, सायद सिक्नुपर्ने कुरा सिक्न समय मिलेन। अब सिक्नुहोस्। र, गीतामै भनेजस्तो तलको वाक्यांश पनि हामीहरू सबैले नबिर्सौँ।’
यस्तो छ उनको स्टाटस:
भागवत गीतामा भनिएको छ: ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ अर्थात् कर्ममा मात्र तिम्रो अधिकार हुन्छ, त्यसको फलमा हुँदैन। मलाई बेला–बेला विवेकशील साझाको यात्रामा यही कुरा झझल्को आउँछ। मुकुलजी (रास्वपाका महामन्त्री) ले पार्टी दुर्घटना उन्मुख छ, बेलैमा सचेत हुनुपर्छ भनेर ३८ जिल्ला पुगेर समीक्षा प्रतिवेदन पार्टी सभापतिलाई बुझाउनु भएको कुरा समाचारबाट सुनेँ। विवेकशीलको जस्तै अवस्था आउला भन्नुभएको पनि सुनेँ। र, आफ्नो केहि कुरा यहाँ राख्न मन लाग्यो।
रास्वपाको सुरुवात भइराख्दा उज्ज्वल थापा दाइ, विवेकशीलका संस्थापक नेताको देहान्त भएको भर्खर एक वर्ष भएको थियो। दाइको देहान्तपछि जसरी लाखौँ मानिसले आफ्नो सान्त्वना प्रदान गरे, धेरैले उज्ज्वल दाइको नाम लिन थाल्नु स्वाभाविक नै थियो।
रास्वपाले पनि पटक-पटक भन्यो सो पार्टीको राजनीतिक धरातलको जग स्व. उज्ज्वल थापाले नै राखिदिएका हुन्। गणतन्त्र स्थापनापछि खुलेको विवेकशील नेपाली दल पछि विवेकशील साझा पार्टी बन्यो, जसले नेपाली समाजमा अनौठो तरिकाको भद्र राजनीतिको सुरुवात गर्यो, युवाहरूलाई राजनीतिमा आकर्षित गर्न फेरि सुरु गर्यो।
निर्वाचनको अङ्कमा गणितमा प्राय तलै पर्यो तर देशको सामाजिक विषयमा माथि पर्दैथ्यो। विडम्बना टुटफुटको कठिन यात्रा, दलभित्र एकीकृत हुन नसक्नु, सङ्गठन विस्तार तीव्र रूपमा नबढ्नु, दलकै अध्यक्षको राजनीतिक एजेन्डा परिवर्तनका हक कुनै दललाई खेत जसरी जोतिए पछि आजको दिनसम्म आइपुगेका छौँ।
विवेकशील साझा पार्टी अहिले बेला बेला मात्र देखिन्छ, सदस्यहरू पनि छैनन्, खासै केहि साख छैन, हामी यस्तो अवस्थामा चाहिँ पुग्न हुँदैन भन्नु भएको सुनिन्छ। ठिकै हो! हामीलाई पनि यस्तो अवस्थामा पुग्न मन थिएन, अहिले हेर्दा पनि अवस्था मन पर्दैन तर “छिटै खाउँ कि जली मरौँ” गरेर हामीले आफ्नो मूल्यमान्यता, राजनीतिक अडान अस्पष्ट राखेका छैनौँ। हामीले विवेकशील–साझा पार्टीलाई तत्कालीन अध्यक्षको लहलहैमा राप्रपा बन्न दिएनौं, त्यसमा स्पष्ट भयौँ।
टुटफुटले मन दुखेका साथीहरू अहिले पनि हामीलाई गाली गरिरहनुहुन्छ, फेसबुकका कमेन्टमा रिस पोखिरहनुहुन्छ लाग्छ कि उहाँहरू कुनै अमुक दलका अन्धभक्त हुनुहुन्छ तर होइन: हाम्रै पुराना रुष्ट साथीहरू हुनुहुन्छ। यसरी हेर्दा, अहिले पार्टीमा दुःख कष्ट व्यापक छ तर पनि राजनीतिक अडान छ।
यस्ता दुखका कुराहरूबीच पनि मलाई अचम्म चाहिँ के विषयमा लागि रहेको छ भने यहाँहरू ‘माथि’ भएको आभास र ‘तल पुग्न लागेको’ आभास पनि “विवेकशील साझा” को नाम लिएरै गर्नुहुन्छ तर हामीहरूको कठिन यात्राबाट भने सिक्नुहुन्न। बरु, विवेकशील पृष्ठभूमि भएकाहरूलाई सकभर ठाउँमा राखौँ भन्ने पनि सुनेको हो (यो सुनेको कुरा चाहिँ गलतै साबित होस्।)
एक जनाको वरपर फनफनी घुम्न मिल्ने भनेको फुलको वरपर भमरा हो एक व्यक्तिको वरपर एउटा सिङ्गो दल होइन। त्यसैले, मुकुलजी, दलको नीति अधिवेशन, महाधिवेशन गर्ने समय ढल्की सक्यो! तपाईँहरू दुर्घटनामा नपर्नुहोस्। हाम्रो इतिहास, लडाइँ, भोगाई, थकाई र सिकाइले हामी हिँडिरहनेछौ र हाम्रो भोगाइबाट तपाईँहरूले सिक्नुपर्ने थियो, सत्ताको रस पसेर हो कि, निकै कम समयमा संसद् भवनभित्र बसेर हो, सायद सिक्नुपर्ने कुरा सिक्न समय मिलेन। अब सिक्नुहोस्। र, गीतामै भनेजस्तो तलको वाक्यांश पनि हामीहरू सबैले नबिर्सौँ।
‘मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।’ अर्थात् कर्मको प्रतिफल कस्तो हुन्छ भनेर आशावादी हुनुहुँदैन, तर अकर्मण्यताप्रति पनि आशक्ति हुनुहुँदैन। तपाईंहरुलाई शुभ भाव।
सम्बन्धित समाचार:
- ३८ जिल्ला घुमेपछि रास्वपा टोलीको ठहर– ‘बोल्ड निर्णय’ नगरे पार्टी जोगाउनै कठिन
- ममाथि पार्टीभित्र घृणित राजनीति भयो, प्रतिवेदन सार्वजनिक गरियोस् : रास्वपा महामन्त्री ढकाल
- महामन्त्रीले ओली–प्रचण्डलाई चिढ्याउन हुँदैनथ्यो, रास्वपाले सरकार छोडौँ भन्नुपर्थ्यो : कबिन्द्र बुर्लाकोटी (अन्तर्वार्ता)
- महामन्त्रीको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौँ : रास्वपा सांसद खनाल
Shares
प्रतिक्रिया