सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताएकी छिन्।
बिहीबार काठमाडौँमा नेपाल साहित्यिक पत्रकार संघको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
राजनीति देशको मुल नीति भएपनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको उनले बताइन्। राजनीति देशको माउ नीति भएको राजनीति नसुधारीकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको जिकिरसमेत गरिन्।
‘आज आएर राजनीति भन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ। आखिर राजनीति त देशको मुल नीति हो। यो माउ नीति हो। यो मुल नीति, माउ नीति नसच्चिसम्म यो नसुध्रिकन अरु तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन। त्यसकारण यसलाई कसरी सुधार गर्ने, कसरी अघि बढाउने भन्ने विषयमा हामी सबैले घोत्लिएर सोच्नुपर्ने हो की,’ उनले भनिन्।
राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको उनको भनाइ छ। साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुुनपर्नेमा उनले जोड दिइन्।
‘हिजो जसरी समाज परिवर्तनमा तपाईंहरुले हामीलाई हात समाएर डोर्याउनुभयो। त्यसैगरी आज पनि आवश्यकता छ। अहिले समाज जुन ढंगले स्खलित भएको छ, जसरी भ्रष्टीकरणमा जान खोज्दैछ। सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारी हाम्रो हो। साहित्य क्षेत्रमा लाग्नुभएका व्यक्तिहरुले प्ररित गर्नुपर्ने हुन्छ।’
मन्त्री शर्माले सरकारले साहित्यिक पत्रकारितालाई पनि केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताइन्।
Shares
प्रतिक्रिया