उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू धेरै बोलेर पीडित हुनुपरेको स्वीकार गरेका छन्। आइतबार नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पछि जन्मिएकाले धेरै कुरा गर्न नहुने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेले सम्बोधनको सुरुमै लोकतन्त्र, मुलुकको संविधान र मुलुकको व्यवस्था परिवर्तनका लागि खटिएका नेताहरूलाई सम्मान गरे।
लगत्तै, उनले आफ्नो पार्टी कान्छो भएकाले धेरै कुरा गर्नु राम्रो नहुने कुरा अनुभवले सिकाएको बताए।
‘यो देशको लोकतन्त्र, मुलुकको संविधान र मुलुकको व्यवस्था परिवर्तनार्थ अहोरात्र खटेर जीवन समर्पण गर्नुभएका तमाम नेतागणमाथि सम्मान व्यक्त गर्दछु,’ लामिछानेले भने।
सभापति लामिछानेले अघि थपे, ‘पछि जन्मिएकोले धेरै ठूलो कुरा गर्न हुँदैन। कान्छो कान्छो पार्टी भएकाले दिग्गज दिग्गज व्यक्तिहरूको बीचमा बोल्नु भनेको छोटी मुख बात भनेजस्तो हुन्छ।’
उनले आफू धेरै बात गरेको कारणले पीडामा परेको उल्लेख गर्दै त्यसलाई घटनाउनुपर्ने भएको पनि बताए।
‘म बढी बातले अलिकति पीडित भएकोले बढी बात घटाउनुपर्ने भएको छ मैले। त्यो अनुभवले सिकाउने कुरा हो,’ सभापति लामिछानेले भने।
Shares
प्रतिक्रिया