संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको शान र इज्जत बढ्नेगरी काम गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन्।
सोमबार नेपाल वायुसेवा निगमको ६६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपाल वायुसेवा निगमले राष्ट्रको शान र इज्जत बढाउनका निमित्त आजसम्म काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिन आग्रह गरे।
‘नेपाल वायुसेवा निगमले ६६ वर्ष पार गरेर ६७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा म सबै नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाल वायुसेवा निगमले राष्ट्रको शान र इज्जत बढाउनका निमित्त जे जति कामहरू गरेका छन्, त्यसको निरन्तरताको निमित्त यो व्यवस्थापकीय पक्षलाई पनि विशेष ध्यानाकर्षण गराउन चाहन्छु र निर्देशन दिन चाहन्छु,’ मन्त्री तामाङले भने, ‘पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखापरेका समस्याहरु छन्, त्यस सम्बन्धमा मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन अवलोकन गर्ने काम भइरहेको छ। बाहिर जे जति आउँछन्, बाहिर आएका कुरा सबै सत्य हुन् भन्नेकुरा हुँदैन।’
पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखापरेका समस्यालाई मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन, अवलोकन गर्ने काम भइरहेको पनि उनले बताए।
बाहिर आएका सबै कुराहरू सत्य नहुने भन्दै मन्त्री तामाङले सरकारको संस्थामाथि प्रश्न उठिसकेपछि अभिभावकत्व ग्रहण गरेर त्यसको छानबिनमा मन्त्रालय गम्भीर भएर लागेको मन्त्री तामाङले बताए।
‘तर पनि एउटा संस्था भइसकेपछि र त्यसको उपर प्रश्न चिन्ह खडा भइसकेपछि त्यसको बारेमा फेरि मन्त्रालय भनेको एउटा नियमन निकाय पनि हो। उसको अभिभावकत्व ग्रहण गर्ने सर्वोच्च संस्था पनि हो। त्यो भएको हिसाबले जति पनि प्रश्न उठ्ने गरेका छन्, त्यसको बारेमा मन्त्रालय गम्भीर रूपबाट लागिरहेको छ,’ मन्त्री तामाङले भने, ‘मन्त्रालय आफ्नो मातहतको कुनैपनि निकायमा समस्याहरु छन्, भन्ने हिसावले प्रश्न उठिसकेपछि गम्भीर हुन्छ, सचेत ढंगले हल गर्ने पहल र प्रयत्न गरिन्छ। कुनैपनि हिसावले यसको अभिभावकत्व ग्रहण गर्ने निकाय भएकाले यसको सबै समस्या कुन तरिकाबाट निराकरण गर्न सकिन्छ, छलफल, अरु उपाय अपनाउन अध्ययन गरिन्छ।’
मन्त्री तामाङले आफ्नो मातहतको कुनैपनि निकायमा समस्याहरू भए मन्त्रालय नियमन र छानबिनको दायरामा ल्याउन सचेत रुपबाट लागेको बताए।
Shares
प्रतिक्रिया